२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशन सरगर्मी : सहमतिको प्रयास जारी

draupadi film
तिलु शर्मा पौडेल
२०८१ साउन ६ गते १५:५४
प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशन सरगर्मी : सहमतिको प्रयास जारी

दोहा, कतार : प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनको खुला सत्र गत शुक्रबार सम्पन्न भए पनि अधिवेशनको बन्द सत्रबाट नयाँ कार्यसमिति बन्न सकेको छैन । शुक्रबार राति बन्द सत्रमा परेका उम्मेदवारीसमेत केही आकांक्षीले फिर्ता लिएसँगै “समय अभाव” कारण देखाउँदै बन्द सत्र बिहान स्थगित भएको थियो । विभिन्न पदमा उच्च उम्मेदवारी परे पनि अध्यक्ष पदमा आधा दर्जनभन्दा बढीको उम्मेदवारी परेको थियो ।  शनिबार साँझसम्म आइपुग्दा केही आकांक्षीले उम्मेदवारी फिर्ता लिएर सहजीकरण गरे पनि अध्यक्ष पदका आकांक्षीद्वय भेषराज पराजुली र चूडामणि कार्कीबीच सहमति हुन नसक्दा नयाँ कार्यसमिति चयन हुन सकेको छैन ।

सहमतीय प्रणालीबाट नेतृत्व चयन हुन नसकेपछि लोकतान्त्रिक पद्धतिमार्फत पनि निर्वाचन नगराउन केही शक्तिले निर्वाचन समितिलाई दबाब दिएको आशंका पराजुलीले व्यक्त गरे । 'लगभग अन्य पदमा सहमतिसहित केही पदमा जनजाति, महिला र दलित कोटाबाट निर्वाचित भइसकेका छन्,' उनले भने । अध्यक्ष पदमा सहमति हुने बित्तिकै नयाँ समिति गठन हुने पराजुलीले बताए ।  उनले आफू निर्वाचन र सहमतीय दुवै प्रणाली स्विकारेर अगाडी बढेको स्पष्ट पारे ।

शुक्रबार राति र शनिबार गरिएका सहमतिका प्रयासहरू असफल रहेको अध्यक्ष पदका अर्का आकांक्षी कार्कीले स्वीकार गरे । उनले "एकले अर्को आकांक्षीलाई मलाई यस पटक सहयोग गर्नुहोस् म नेतृत्वमा जान चाहन्छु" भनेकै कारण सहमति नभएको स्पष्ट पारे । निर्वाचन प्रक्रियामा जान निर्वाचन समितिमाथि केही शक्तिले प्रभाव पारेको भन्ने पराजुलीको आशंकाको खण्डन गर्दै कार्कीले पहिलो प्राथमिकता सहमतिमै नयाँ समिति निर्माण गरौं भन्ने हेतुले निर्वाचनमा नहोमिएको बताउँदै सहमतिबाट नै नयाँ समिति बन्ने विश्वास कार्कीले व्यक्त गरे । जात, धर्म, लिङ्ग, भूगोल समेटेर नयाँ टिम निर्माण गरेर आफू अगाडि बढ्न खोजेको स्पष्ट पार्दै निर्वाचनमा जान आफूलाई समस्या नरहेको कार्कीले बताए ।

पराजुलीको आशंका गलत रहेको बताउँदै निर्वाचन समितिका संयोजक गोविन्द सुवेदीले निर्वाचन समितिलाई कसैले पनि प्रभाव नपारेको र निर्वाचन नगर्न दबाब नदिएको स्पष्ट पारे । उनले शुक्रबार बाहेक अन्य दिन निर्वाचन गराउन असम्भव रहेको हुँदा आकांक्षीहरुलाई सहमतिका लागि थप समय दिइएको बताउँदै सहमतिमा नटुंगिए ढिलोमा आगामी शुक्रबारसम्म निर्वाचन गराइने प्रतिबद्धता व्यक्त गरे । "नेपालमा जस्तो सहज छैन, यो परदेश हो प्रतिनिधिहरुको अनुकूलतालाई प्राथमिकता दिनुपर्दछ,” सुवेदीले भने । "बिहीबारसम्म नभए शुक्रबार सार्वजनिक बिदाको दिन पारेर चुनाव हुन्छ ढुक्क हुनुहोस्," सुवेदीले मध्यान्हसँग भने ।

अधिवेशनलाई सम्बोधन गर्न नेपालबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालगायतका नेताहरू कतार आएका छन् । केन्द्रीय स्तरका नेताहरू कतारमै रहँदै गर्दा मञ्चको अधिवेशनको खुला सत्र सकिएको तीन दिन बितिसक्दा पनि सहमति र निर्वाचन पनि नहुनुलाई कतारको नेपाली समाज, अन्तर्राष्ट्रिय तथा मध्यपूर्वको कमिटी र नेपालको राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा लिएको सहजै बुझ्न सकिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise