२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते १८:२३
देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध

काठमाडौंः हाल देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् । जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भू–भागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो ।

यातायात अवरुद्ध हुँदा दसैँका लागि काठमाडौं उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिुसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सडक अवरुद्ध भएका कारण दसैँ सकेर उपत्यका फर्कने कतिपय स्थानका यात्रुले सास्ती बेहोर्नुपरेको बताए । 

‘अहिले विषेशगरी नेपालको पूर्वी क्षेत्रका सडक अवरुद्ध भएका कारण उपत्यका बाहिरिएका सवारीसाधन समयमा नै फर्किन पाएनन् । यात्रुहरूले पनि सास्ती बेहोर्नुपरको छ । सम्भव भएको स्थानमा हामीले वैकल्पिक मार्ग प्रयोग गरेका छौँ,’ उनले भने, ‘यसपटक सरकारले विपद्का कारण अवरुद्ध सडकखण्डको समयमा नै मर्मत गरिरहेको पाइयो । कतिपय सम्भव नभएका सडकखण्ड अवरुद्ध भए पनि अन्य सडकखण्डका पहिरो समयमा नै पन्छ्याउदा सहज पनि भएको छ ।’

यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक 

गत असारको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल र चीनलाई जोड्ने मितेरी पुल क्षति पुर्‍याएको छ । पुलमा क्षति भएपछि यतिबेला सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द रहेको छ । 

त्यसैगरी, सोही गाउँपालिका–२ बालुवाखानी र तातोपानी क्षेत्रमासमेत पासाङ ल्हामु सडक खण्ड माथिबाट सुक्खा पहिरो र ढुङ्गा खसेपछि बाटो पूर्णरूपमा बन्द भएको छ । यसै सडकखण्डको गोसाइँकुण्ड–३, फ्याङलुङ क्षेत्रमा भोटेकोसी खोलाले करिब ३५–४० मिटर सडक कटान गरेपछि उक्त खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, बरुणखोला नजिक बाढीले ह्युम पाइप बगाएपछि खाँदबारी–थुमसुर खण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार वर्षायामभर यो खण्ड सञ्चालनमा ल्याउन कठिन भएको र अब मनसुन सकिएसँगै सडक मर्मतको कार्य अगाडि बढाइने छ ।
 
त्यस्तै, मकालु गाउँपालिका–३, एकुवा नजिक पनि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले पूर्ण रूपमा रोकिएको छ ।

यही असोज १८ गते बिहान ११ बजे काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबँसी र बुलढुङ्गा आसपासको बिपी राजमार्ग माथिबाट ढुङ्गा खसेपछि बाटो दुबै तर्फी अवरुद्ध भएको हो । सडक सफाइ र मर्मत कार्य भइरहेको विभागले जनाएको छ । 

रुकुम (पूर्व) को भूमे गाउँपालिका–४, काँडाबगरस्थित मध्यपहाडी लोकमार्ग मङ्गलबार साँझ  पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक माथिबाट लेदो, ढुङ्गुर माटोको ठूलो मात्रा खसेका कारण बाटो खुलाउन कठिनाइ भइरहेको जनाइएको छ ।

विभागको अनुसार १ सय ७४ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise