२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नवोदित साहित्यिक वाचनालय कतारको अधिवेशनसँगै मनाइयो २१०औं भानु जयन्ती

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन ६ गते २१:१९
नवोदित साहित्यिक वाचनालय कतारको अधिवेशनसँगै मनाइयो २१०औं भानु जयन्ती

दोहा कतार : वि.सं. २०६५ सालमा कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालयले आफ्नो १६ औं अधिवेशन नज्मास्थित गोरखा रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म–जयन्ती समारोहका साथै अनेसास नवोदित साहित्य वाचनालय कतारको १४८ औँ वाचन डबली शृंखला तथा विशेष रचना वाचन कार्यक्रम वाचनालयका अध्यक्ष नारायण भण्डारी ‘निर्जल’को सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव तथा वरिष्ठ साहित्यकार कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न  गरेको हो । 

अधिवेशनको बन्द सत्रबाट सन्दीप थपलिया ‘सानु’ को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । 

समितिको प्रथम उपाध्यक्षमा सोम थापा, द्धितीय उपाध्यक्षमा शोभाराम ओली, मोबाइल पुस्तकालय संयोजकमा सुरेश परियार,महासचिवमा शिव सुवेदी, सचिवमा खिम पुन र कोषाध्यक्षमा सुजता डिसी र सह–कोषाध्यक्षमा गोविन्द उदासी चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा रफि मिया, सदीक्षा थपलिया,अनवर अलि,डिल्लीराज केसी रहेका छन् ।

आदिकवि भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गर्दै साहित्यिक वाचनलाई अगाडि बढाइएको विशेष रचना वाचनमा सर्जक तथा कवि पूर्ण कान्छा गुरुङ, मुक्तककार सुजात डिसी र गजलकार सुरेश परियार ‘आभाष’ ले आफ्ना रचना वाचन गरेका थिए । रचना वाचकहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

अधिवेशनमार्फत लामो समयदेखि कतारमा रहेर नेपाली साहित्यमा साधनारत वाचनालयका पूर्व अध्यक्ष तथा अनेसास कतार च्याप्टर शाखाका अध्यक्ष लेख कार्की सम्मानित भएका छन् ।

कार्कीलाई कतार नेपाली डायस्पोरामा एक दशक भन्दा धेरै समयदेखि अविछिन्न रूपमा नेपाली भाषा साहित्यलाई नयाँ पुस्ताबीच जोडिरहन सधैँ प्रभावकारी भूमिका खेलेको भन्दै कार्कीको साहित्यिक साधना र योगदानको उच्च कदर गर्दै नवोदित स्रष्टा सम्मान २०८१ द्वारा दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्कीका बारेमा निर्माण गरिएको २४ मिनेट लामो भिडियोमार्फत उनका कृति, जन्म, कर्म र सफलताको गाथा देखाइएको थियो । वाचनालयका प्रथम उपाध्यक्ष लिलानाथ घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले परदेशमा समय बचाएर एउटै संस्थाले ‘१४८ औं’ पटकसम्म डबलीमार्फत साहित्यिक यात्रा गरेकोमा खुसी व्यक्त गरे । 

उनले सर्जकहरूलाई मरुभूमिमा बसेर लेख्ने कविताहरूले नेपालको नेपाली साहित्यको वर्तमान कविताको मूल धारको नेतृत्व गर्न सक्ने गरी लेख्नका लागि कोसिस गर्न सुझाव दिए ।

महासचिव शोभाराम ओलीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भण्डारीले कार्यक्रम र आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा अधुरा रहेका कार्यलाई नयाँ समितिले पूर्णता दिने विश्वास व्यक्त गरे । 

सभा हलमा पुस्तकालयको स्टल समेत राखिएको थियो ।  कार्यक्रममा कतारमा रहेर विभिन्न विधामा कलम चलाउने साहित्यकारहरू, फरक फरक डबलीका विशिष्ट श्रोताहरू लगायत साहित्यलाई माया गर्ने साहित्य प्रेमीसहित कतारमा स्थापित विभिन्न संघ सस्थांहरुका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

को हुन् नवनिर्वाचित अध्यक्ष ?

वि.सं.२०५५ साल मंसिर २८ गते पिता मोहन चन्द र माता सरस्वाता थपलियाको कोखबाट तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका थपलिया वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१७ को अन्तिमतिर कतार प्रवेश गरेका थिए । स्नातकसम्मको अध्ययन गरेका थपलिया कतारमा हरेक महिना सञ्चालन हुने वाचन डबली अन्तर्गत ८४ आंै डबलीबाट कतारमा हुर्कँदै गरेको साहित्यसँग जोडिएका हुन् । 

नेपालमा रहँदा २०६९ सालमा झापाको बिर्तामोडमा रहेको मनकामना क्याम्पसको साहित्यिक परिवारको संस्थापक सचिव भएर काम गरिसकेका उनी कतारमा नवोदितमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल सचिव, एक कार्यकाल मोबाइल पुस्तकालय संयोजक, एक कार्यकाल द्धितीय उपाध्यक्ष रहेर कार्यसम्पादन गरेको अनुभव छ । नव निर्वाचित अध्यक्ष थपलियाका परिवार झापाको बिर्तामोड ८ गरामनी बसोबास गर्छन् । परिवारमा बाबा–आमा र भाइ गरी ४ जना रहेका छन् । गजल विद्यामै रहेर नेपाली साहित्यलाई मलजल गर्दै कतारमा स्थापित विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise