२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

विश्वविख्यात धावक जोन नेपालगन्जमा, गौघाट ग्रीन रनमा सहभागी हुने

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते १३:२९
विश्वविख्यात धावक जोन नेपालगन्जमा, गौघाट ग्रीन रनमा सहभागी हुने

नेपालगन्ज : कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याका प्रख्यात धावक जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा नेपालगन्ज आइपुगेका छन् । उनलाई आयोजक समितिका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भीम ओलीले स्वागत गरे ।

जोन गौघाट ग्रीन रनमा अतिथि धावकका रूपमा सहभागी हुनेछन्, जहाँ उनले स्कुले विद्यार्थीहरूलाई प्रोत्साहन गर्न सँगसँगै दौडने छन् । रेस डाइरेक्टर गुरुङका अनुसार असोज २८ गते बिहान ७ बजे खजुराको सितापुरमा हुने यो दौडमा खजुरा गाउँपालिकाका विद्यालयका छात्र–छात्रा र खुला विधाका प्रतियोगी गरी चार समूहमा प्रतिस्पर्धा हुनेछ ।

यो ग्रीन रन नेपालको सम्भवतः पहिलो पर्यावरणमैत्री दौड हो, जसले प्लास्टिकमुक्त हरियाली गाउँ निर्माण र पर्यावरण संरक्षणको सन्देश दिने उद्देश्य राख्छ । गत वर्ष ४२ जनाले भाग लिएको यो दौडमा यसपटक करिब १०० जना सहभागी हुने अपेक्षा गरिएको छ ।

जोन केलाई म्याराथन क्षेत्रका ‘लिजेन्ड’ मानिन्छन् । उनले सन् २००३ देखि २०१० सम्म मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन (नेदरल्यान्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा), सिंगापुर म्याराथन र ब्रसेल्स म्याराथन (बेल्जियम) जस्ता विश्वप्रसिद्ध दौडमा विजय हासिल गरेका छन् ।

यसैगरी, गौघाट ग्रीन रनमा मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान पनि सहभागी हुनेछिन् । पर्यावरण संरक्षणप्रति उनको रुचीका कारण उनी यो दौडसँग जोडिएको आयोजकले जनाएका छन् । सोमबार जोन र श्रृच्छासँग जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाहरूको भेटघाट कार्यक्रम राखिएको छ ।

यसैबीच, धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण मंसिर ६ गते हुने भएको छ । म्याराथनका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । आयोजकका अनुसार, यसपटक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र अन्य सहभागीलाई अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने योजना छ । थाइल्यान्डको बाङ्सेन रनिङ सिरिजसँग औपचारिक सम्झौता भइसकेको छ भने अन्य म्याराथन आयोजकहरूसँग पनि सहकार्यको तयारी भइरहेको एम्स दूत ठकुरीले बताए।

ADV

सम्बन्धित खबर

Advertise