२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

जीर्ण बन्दै बानेश्वरनाथ पुल, जोखिममा आवागमन

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २२ गते १४:५२
Shares
जीर्ण बन्दै बानेश्वरनाथ पुल, जोखिममा आवागमन

रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ ।

ncell

पुलका विभिन्न संरचनात्मक भागमा क्षति पुग्नुका साथै फलामे जाली, नट–बोल्ट तथा भारवहन गर्ने मुख्य केबल कमजोर र खुकुलो बन्दै गएको स्थानीयवासीले बताएका छन् । पुलका केही स्थानमा फलामे तार नट–बोल्टबाट छुट्टिएर झुन्डिएको तथा संरचना हल्लिने समस्या देखिएको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार पुलका दुवैतर्फ भार थाम्ने मुख्य फलामे केबलसमेत खुकुलो हुँदै गएको छ । समयमै प्राविधिक निरीक्षण गरी पुलको भारवहन क्षमता परीक्षण तथा आवश्यक मर्मत नगरे दुर्घटनाको जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ ।

गौरस्थित प्रसिद्ध महादेव मन्दिरबाट केही मिटर पश्चिममा रहेको यो पुल गौर र ईशनाथ क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण आवागमनको माध्यम हो । टिकुलिया घाटमा निर्माणाधीन पक्की पुल लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका कारण बानेश्वरनाथ झोलुङ्गे पुल स्थानीयका लागि मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।

पुलबाट दैनिक ठूलो संख्यामा पैदल यात्रु, साइकल तथा मोटरसाइकलमा यात्रुहरू आवतजावत गर्ने गरेका छन् । पछिल्लो समय यो पुल स्थानीयका लागि आवागमनको साधन मात्रै नभई पर्यटकीय आकर्षणसमेत बन्दै गएको छ । विशेषगरी साँझ र बिदाका दिन पुलमा फोटो तथा भिडियो खिच्न आउनेको चहलपहल बढ्ने गरेको स्थानीय बताउँछन् ।

पुल आसपासमा खाजा घर, खुद्रा पसल तथा अन्य साना व्यवसाय सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारी तथा आम्दानीको अवसरसमेत सिर्जना भएको छ ।

बानेश्वरनाथ झोलुङ्गे पुलको उद्घाटन २०८० वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । पुल सञ्चालनमा आएपछि गौर र ईशनाथ क्षेत्रका बासिन्दालाई सदरमुकामसम्मको आवागमन सहज भएको थियो ।

तर, पुल सञ्चालनमा आएको केही समयमै नियमित निरीक्षण तथा मर्मतसम्भारमा ध्यान नदिएको भन्दै स्थानीयले सम्बन्धित निकायप्रति प्रश्न उठाएका छन् । पुलको मर्मतसम्भारका लागि विनियोजन हुने बजेट, नियमित निरीक्षणको जिम्मेवारी र सुरक्षासम्बन्धी व्यवस्था पारदर्शी बनाउनुपर्ने उनीहरूको माग छ ।

सम्भावित दुर्घटना भएपछि मात्रै मर्मत गर्ने प्रवृत्ति अन्त्य गरी तत्काल दक्ष प्राविधिक टोली खटाएर पुलको अवस्था परीक्षण गर्न स्थानीयले माग गरेका छन् । कमजोर बनेका नट–बोल्ट, फलामे जाली र मुख्य केबलको मर्मत तथा सुदृढीकरण गरी आवागमन सुरक्षित बनाउन गौर नगरपालिका, ईशनाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको छ ।

ताजा खबर

सम्बन्धित खबर