२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि विशेष आँखा शिविर, १०१ जनालाई सुरक्षात्मक चस्मा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २२ गते १७:३२
Shares
सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि विशेष आँखा शिविर, १०१ जनालाई सुरक्षात्मक चस्मा

रौतहट : विश्व दृष्टि दिवसको अवसरमा रौतहटमा सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई लक्षित गरी विशेष आँखा शिविर तथा सुरक्षात्मक सामग्री वितरण कार्यक्रम आयोजना गरिएको छ ।

ncell

नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पतालको आयोजनामा बिहीबार गरुडा–४ स्थित इलाका प्रहरी कार्यालय शिवनगरमा कार्यक्रम सम्पन्न भएको हो ।

सडक तथा शान्ति सुरक्षामा प्रत्यक्ष खटिने सुरक्षाकर्मीलाई घाम, धुलो र धुवाँका कारण आँखामा पर्न सक्ने जोखिमबाट जोगाउनुका साथै दृष्टि संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरी, अस्पतालका पदाधिकारी तथा सञ्चारकर्मीसहित सडकमा प्रत्यक्ष खटिने १०१ जनालाई सुरक्षात्मक चस्मा वितरण गरिएको थियो । यस्तै, १०३ जनाको विशेष आँखा परीक्षण तथा परामर्श गरिएको थियो ।

आँखा परीक्षणका क्रममा समस्या देखिएका ३८ जनालाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गौर आँखा अस्पतालका अध्यक्ष विजयकुमार सिंह र ट्राफिक प्रहरी उपरीक्षक ज्ञानबहादुर बस्नेतले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए ।

सो अवसरमा अध्यक्ष सिंहले आँखा शरीरको संवेदनशील अंग भएकाले यसको नियमित हेरचाह र सुरक्षामा सबैले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा अस्पतालका प्रशासक नागेश्वरप्रसाद चौधरी, डा. बिनिशा श्रेष्ठ, सचिव तथा सदस्य बच्चा यादव, सदस्यहरू सुरेन्द्र यादव, नगेन्द्र वरम र रामनारायण साहलगायतको उपस्थिति थियो ।

त्यस्तै, अस्पतालका दृष्टि विशेषज्ञ पुनम यादव, मनोजकुमार, जितेन्द्र यादव र प्रदीपन राय यादवसहितको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो । रौतहट प्रहरीका प्रहरी उपरीक्षक सीताराम रिजाललगायत सुरक्षा अधिकारीहरूको पनि कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आँखा सुरक्षा तथा दृष्टि संरक्षणसम्बन्धी जनचेतना फैलाउन समाचार तथा सूचनामार्फत नागरिकसम्म निरन्तर सन्देश पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर