२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

काठमाडौं उपत्यकामा हैजा : पोलियो पनि भेटियो

ADV
शिव विक
२०८१ साउन ९ गते ०६:५५
काठमाडौं उपत्यकामा हैजा : पोलियो पनि भेटियो

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा संक्रमणका बिरामी फेला परेका छन् । ललितपुरका एक किशोर हैजा संक्रमित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पुष्टि गरेको छ । अन्य दुई जनामा हैजाको लक्षण देखिएको छ । अस्पतालका अनुसार उपचारका लागि पुगेका ललितपुरका १६ वर्षका किशोरमा हैजाको संक्रमण फेला परेको हो । 

अस्पतालका अनुसार ति किशोर गत शुक्रबार उपचारका लागि अस्पताल पुगेका थिए । मंगलबार हैजा पुष्टि भएको हो । 

चिकित्सकहरूका अनुसार आरटी रिपोर्टमा हैजा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । हैजाको संक्रमण पुष्टि भएपछि ति किशोरलाई टेकुमै राखिएको छ । उनको आइसोलेसनमा राखेर उपचार भइराखेको छ । 

अस्पतालका अनुसार हैजा पुष्टि भएका किशोर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ का हुन् । गोदावरी बाटै अन्य दुई–तीनजनालाई अस्पताल ल्याएर परिक्षण गरिएको छ । आइसियूमा उपचाररत एकजनालाई हैजाका लक्षण देखिएको छ । लक्षण देखिएकालाई परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउन पठाइएको छ । तर, हैजा संक्रमण भए/नभएको पुष्टि भएको छैन । 

हैजाका संक्रमण देखिएका तेस्रो व्यक्तिको रिपोर्ट आउन बाँकी छ । 

यसैगरी, उपत्यकामा पोलियो पनि भेटिएको छ । उपत्यकाका विभिन्न ५ ठाउँको ढलबाट महिनाको २ पटक नमूना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिएको छ । यही क्रममा २०८१ जेठ १३ गते काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट ढलबाट आएको  पानी नमूनाका रुपमा लिइएको थियो । उक्त नमूनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएको हो ।  यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको चिकित्सकहरू बताउँछन् । 

यसपछि काठमाडौं महानगरपालिकाले ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । 

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले विशेष पोलियो खोप अभियान चलाउन लागेको हो । अभियान आजै देखि शुरु हुनेछ ।

यसअघि नियमित खोप लिएका बालबालिकालाई समेत यसपटक खोप अनिवार्य गरिएको महानगरपालिकाले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise