२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

नगरकोटको सीमा समस्या सुल्झाउने चार स्थानीय तहको तयारी

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १७:००
नगरकोटको सीमा समस्या सुल्झाउने चार स्थानीय तहको तयारी

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंँदेखिको सीमांकन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका छन् । 

यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’ समिति गठन गरिएको थियो । गठित समितिले अनुगमन निरीक्षण गरी सीमांकन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाएपछि छिट्टै समस्या सुल्झाउने तयारीमा लागेको जनाएका छन् । समितिले बुझाएको प्रतिवेदनको आधारमा सीमा समस्या सुल्झाउन चार नगरका जनप्रतिनिधिले तीन पटक संयुक्त छलफल गरिसकेको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाले बताए ।

उनका अनुसार तीन महिनाभित्र सीमा समस्या समाधान गर्न चारै नगरका जनप्रतिनिधिले तयारी गरेका छन् । नगरकोट काभे्रपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुुर नगरपालिकाको संगमस्थल हो । नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो । वाइबाका अनुसार समितिले सीमा समस्या समाधानका उपाय र विकल्पलाई आधार मानी तयारी थालिएको छ । 

समितिले समाधानको विकल्पमा विसं २०१७-१८ मा गरिएको नापीलाई आधार मान्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको वाइबाले बताए । “हामी समितिको प्रतिवेदनकै आधारमा समस्या समाधन गर्ने तयारीमा लागेको हौँ, दुईदेखि तीन महिनासम्ममा समाधानतर्फ लाग्नेछौँ”, उनले भने । समस्या समाधानका लागि मण्डनदेउपुर नगरका प्रमुख वाइबा, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्य, शङ्खरापुरका नगर प्रमुख रमेश नापित र चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीले छलफललाई तीव्रता दिएका छन् । यसअघि नगरकोटमा ‘पानी ढलो’का रुपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको थियो । 

नगरकोटका ठूला होटलले सार्वजनिक जग्गा हड्पी भवन  बनाएर होटल सञ्चालन गरेको विषयमासमेत विवाद हुँदै आएकाले सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले दुई वर्षअघि चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाईवासहितको टोलीबीच सहमति भ्एको थियो । 

विसं २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमांकन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै गुरुयोजना निर्माण गर्न दुवै नगरले १०-१० लाख बजेटसमेत विनियोजन गरेका थिए । नगरकोटको जमिन होटल रिसोर्ट तथा अन्य व्यक्तिले मिचेको विषयमा दुई नगरले नापी कार्यालयको सहयोगमा आन्तरिक अनुमगन निरीक्षण गरिरहेको वाइबाले बताए । उनका अनुसार पहिला दुई जिल्लाको सीमा समस्या समाधान गरेपछि आ–आफ्नो जिल्लाको नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा जमिन हडपेको विषय खोजी गर्ने सहमति भएको छ । 

यसअघि नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले सार्जवनिक जग्गा दुरुपयोगबारे संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबीचको विवाद समाधान गरिएको थियो । 

भक्तपुरस्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको प्रतिवेदन अनुसार नगरकोटमा सञ्चालित होटलमध्ये वन तथा सार्वजनिक जग्गा क्लब हिमालय होटलले १३ रोपनी  अतिक्रमण गरिएको जनाइएको छ ।  त्यसैगरी द फोर्टले पाँच रोपनी, रूपेस माउन्टेनले एक रोपनी, होटल भ्यू प्वाइन्टले दुई रोपनी र मधुवन होटलले एक रोपनी जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । लस्ट होराइजन, घर छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतले जग्गा अतिक्रमण गरेको जनाइएको छ । 

नगरकोट काठमाडौँ उपत्यका नजिक ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित प्रसिद्ध रमणीयस्थल हो । समुद्री सतहदेखि दुई हजार ७५ मिटर उचाइमा नगरकोटबाट  धौलागिरि हिमशृङ्खलादेखि कञ्चनजंघा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमालका साथै सर्वोच्च शिखर सगरमाथाको दृश्य हेर्न सकिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise