२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपालले सार्वभौम क्रेडिट रेटिङमा फेरि पायो ‘बीबी माइनस’

shivam cement
२०८२ मंसिर २ गते १६:४५
Shares
नेपालले सार्वभौम क्रेडिट रेटिङमा फेरि पायो ‘बीबी माइनस’

काठमाडौं : नेपालले सन् २०२५ का लागि अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ्सबाट दोस्रो पटक ‘बीबी माइनस’ सार्वभौम क्रेडिट रेटिङ प्राप्त गरेको छ । गत वर्ष पनि नेपालले यही रेटिङ पाएको थियो ।

राजनीतिक अस्थिरता, सामाजिक चुनौती, वर्षात्का कारण भएको प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक मन्दीजस्ता प्रतिकूल परिस्थितिका बाबजुद रेटिङ कायम रहनुले नेपालको समष्टिगत आर्थिक स्थायित्व बलियो रहेको सन्देश गएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चुनावकेन्द्रित खर्च र राजनीतिक अनिश्चितताको जोखिमबीच पनि सरकारले वित्तीय अनुशासन कायम राख्नु, राजस्व व्यवस्थापनमा सुधार गर्नु, खर्चमा उचित प्राथमिकता दिनु र रणनीतिक परियोजनालाई निरन्तरता दिनुले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रति विश्वास बढाएको छ ।”

यो रेटिङले नेपालमा वैदेशिक लगानी भित्र्याउन, विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय बजारबाट सार्वभौम ऋणपत्र जारी गर्दा सहज वातावरण बन्ने अपेक्षा गरिएको छ । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्र क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न यो रेटिङ महत्वपूर्ण मानिन्छ ।

अर्थ मन्त्रालयले यो उपलब्धिका लागि अन्तर्राष्ट्रिय विकास साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र र आम नागरिकलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी र रोजगारी सिर्जनामा सरकार दृढ रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

फिचले नेपालको यो रेटिङमा ‘स्थिर’ आउटलुक दिएको छ, जसले आगामी दिनमा रेटिङ सुधार हुने सम्भावना पनि देखाउँछ ।

सम्बन्धित खबर