काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले ‘भिजिट भिसा’मा यूएई पुर्याएर अलपत्र पार्ने समस्याको समाधानका लागि उक्त मुलुकको सहयोग माग गरेका छन् । नेपालका लागि यूएईका राजदूत साईद हमदान अलक्वानीसँग बुधबार छलफल गर्दै भिजिट भिसामा गएर नेपालीले दुःख पाउने क्रम बढेको भन्दै त्यसरी यूएईमा पुग्ने निरूत्साहित गर्न आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले बताएको छ ।
त्यसअघि मन्त्री श्रेष्ठले भिजिट भिसाको धन्दामा संलग्न व्यक्ति वा कम्पनीलाई पीडितको तत्काल उद्धार गर्न चेतावनी दिएका थिए । आकर्षक रोजगारी लगाइदिने र युरोपसमेत पुर्याइदिने भन्दै भिजिट भिसामा यूएई लगेर अलपत्र पारेको, ठगी गरेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको गुनासो आएपछि मन्त्री श्रेष्ठ त्यसविरूद्ध सक्रिय भएका हुन् । मन्त्री श्रेष्ठले भिजिट भिसामा लगेर अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याइने समेत बताएका छन् ।
मन्त्री श्रेष्ठको चेतावनीपछि आाकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको बताए ।
यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरुलाई उद्धार गर्ने प्रतिवद्धता जनाएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालयमा उद्धारको आग्रह गर्दै दर्जनौं उजुरी आउने गरेको बताइएको छ ।
उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौं युवालाई महिनौं अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी आएको पनि सचिवालयको भनाइ छ । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा केही म्यानपावर कम्पनी र उनीहरूका निकटतम व्यक्ति, शैक्षिक कन्सल्ट्यान्सीहरु, ट्राभल्स संचालकहरु तथा बिचौलियाहरु संलग्न रहेको पाइएको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले दाबी गरे ।
मन्त्री श्रेष्ठले एक अपिल जारी गर्दै ठगी तथा अलपत्र परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गर्न आग्रह पनि गरेका छन् । त्यसका लागि मन्त्री श्रेष्ठको निजी सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४ र ९८२३२५६७०६ सार्वजनिक गर्दै समस्यामा परेकाहरूले सिधै सम्पर्क गरी गुनासो टिपाउन सकिने बताइएको छ ।
सरकारले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपालीको समस्या समाधानका लागि श्रम मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल पनि गठन गरेको छ । तर भिजिट भिसामा जानेहरू सबै पीडित र निर्दाेष नहुने र समस्या पर्न सक्ने पुर्व जानकारी भएर पनि जानी जानी जानेहरूलाई सचेत गराउनु पर्ने विषयमा मन्त्री श्रेष्ठले ध्यान दिनुपर्ने कतिपयको सुझाव छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies