२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

स्वदेश फर्कन चाहन्छन् रुसी सेनामा रहेका नेपाली, उद्धारका लागि ३२३ जनाको निवेदन, ११६ जना सम्पर्कविहीन

shivam cement
शिव विक
२०८१ साउन १० गते ०६:५०
स्वदेश फर्कन चाहन्छन् रुसी सेनामा रहेका नेपाली, उद्धारका लागि ३२३ जनाको निवेदन, ११६ जना सम्पर्कविहीन

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाका अनुसार रुसी सेनामा रहेका नेपालीहरूले स्वदेश फर्कन चाहन्छन् । उनका अनुसार दुई देशको युद्धमा परेका ३२३ जनाले उद्धारका लागि निवेदन नै दिएका छन् भने सरकारको रेकर्डमा ११६ जना सम्पर्कविहीन रहेका छन् । 

बुधबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी गराएकी हुन् । उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको उनले बताइन् । मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल गरिरहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले रुस र युक्रेन युद्धमा नेपालीहरू रहेको र उनीहरू रोजगारीको खोजीमा त्यहाँ पुगेको बताएका थिए । नेपालको कुनै सरोकार नभएको विषयमा नेपालीहरू नै रुस र युक्रेनको पक्षमा रहेर लडिरहेको भन्दै सरकारको ध्यानार्षण गरेका थिए । 

यस सम्बन्धमा अन्य सांसदहरूल समेत जानकारी माग गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री राणाले रुस र युक्रेन युद्धमा परेका ३२३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएको जानकारी दिइन् । सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ जना रहेको पनि उनले बताइन् । 

उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको र थप सक्रियता लिने उनको प्रतिवद्धता छ । मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल भइरहेको पनि उनले जानकारी दिइन् । 

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको छ । डीएनए परीक्षणका लागि दिइएको संख्या २२ रहेको छ । युक्रेनमा ६ जना युद्धबन्दीको रुपमा रहेका छन् ।

घाइते भई उपचाररत ५ जनामध्ये एक जना नेपाल फर्किएका छन् । यसका अलावा रुस पुगेकामध्ये १५० जना नेपाल फर्किएका छन् ।

बाँकी नेपाल फर्किनेहरूका लागि समेत सरकारले सक्रियताका साथ काम गर्ने परराष्ट्रमन्त्री राणाको प्रतिवद्धता छ । 

रुस र युक्रेन दुवै मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध छ । तर, दुई देशबीच जारी युद्धसँग नेपालको कुनै सरोकार छैन । तथापि, युद्धमा दुवै देशको पक्षबाट लड्न नेपालीहरू समेत सेनामा सामेल भएपछि नेपालको सरोकार जोडिएको हो । नेपालले दुवै सेनामा भर्ती नहुन नेपालीहरूलाई भनेको छ । दुवै देशलाई नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्काइदिन भनेको छ । तर, नेपालको पहलले सार्थकता लिन नसकेको भनेर आलोचना समेत हुने गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise