
सुर्खेत : हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डोमा विद्युतीकारण गर्न सौर्य ऊर्जा जडान गरिने भएको छ ।
डोल्पाको उत्तरी क्षेत्रमा रहेको शे-फोक्सुण्डो गाउँपालिकामा विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जा सामग्रीको हेलिकोप्टर मार्फत ढुवानीको काम सुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाको १० र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत लगानीमा सौर्य ऊर्जा जडान गरेर पालिकाभित्रका ४ वडामा विद्युतीकरणको काम हुन लागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले जानकारी दिए ।
प्रमुख ढकालका अनुसार पालिकाको १, २, ३ र ५ नम्बर वडामा रहेका सम्पूर्ण घर, गुम्बा तथा विद्यालयमा सौर्य प्रणालीबाट विद्युत सेवा पुर्याउने उद्देश्यसहित झन्डै ३८ करोड ३४ लाख रुपैयाँमा २८७ किलोवाट क्षमताको सौर्य ऊर्जा जडानको कार्य अघि बढाएको हो ।
उक्त कार्यक्रममार्फत ४ वडाका झन्डै ४४५ भन्दा बढी घरधुरीलाई विद्युतीकरण गर्ने लक्ष्य लिइएको अधिकृत ढकालले जानकारी दिए । 'अहिले सौर्य ऊर्जा उत्पादन गर्ने उद्देश्यसहित डोल्पाको जुफाल विमानस्थलबाट हेलिकप्टरमा समान ढुवानीको काम चलिरहेको छ,' उनले भने, 'हेलिकप्टरमा झुन्ड्याएर सौर्य ऊर्जाका लागि आवश्यक सामग्रीहरू गाउँपालिकामा ढुवानीको काम चलिरहेको छ ।'
गाउँपालिकाको वडा नम्बर ४ मा सौर्य ऊर्जा जडानको काम भइसकेको थियो । बाँकी ८ र ९ मा स्थानीय माइक्रो जलविद्युत आयोजना निर्माण गरेर विद्युतीकरण भइरहेको छ । केन्द्रीय प्रसारण लाइन निर्माण हुन नसकेको शे-फोक्सुण्डोमा सौर्य ऊर्जामार्फत अधिकांश वडाहरुमा विद्युतीकरणको काम सञ्चालन भएको गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए ।
सूर्यको प्रकाशबाट विद्युत उत्पादिन गरेर गाउँमा विद्युत लाइन विस्तार गरी अँध्यारोमुक्त पालिका बनाउने अभियान चलिरहेको उनले बताए । अहिले पालिकाले नेपाल टेलिकमको टावरमा फोर जी सेवा सञ्चालन गरेर इन्टरनेटको पहुँचमा ल्याउनसमेत नेपाल टेलिकमलाई उनले अनुरोध गरिरहेको छ ।
भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत प्रसारण लाइन ल्याउन तत्काल सम्भावना कम भएकाले सौर्य ऊर्जामार्फत बत्ती बाल्ने काम सुरु गरिएको हो ।
अहिले भर्खरमात्र सदरमुकाम दुनैमा मुस्किलले पुगेको केन्द्रीय लाइन उपल्लो डोल्पामा पुर्याउने सम्भावना न्यून छ । वर्षमा आधा समय हिउँले ढाक्ने शे-फोक्सुण्डोमा जलविद्युत भन्दा सौर्य ऊर्जा नै उपयूक्त भएको गाउँपालिकाका उपाध्यक्ष गुरुङले बताए ।
पालिकामा अहिले विद्युत सेवाको पहुँच नहुँदा काम गर्न सक्ने वातावरण नभएको भन्दै सेवा प्रवाह प्रभावित हुँदै आएको छ । ५ हजार ६ सय मिटर भन्दा माथि रहेको गाउँमा विद्युतीकरणको पहुँच नहुँदा सदियौंदेखि माथिल्लो डोल्पाका नागरिकहरूले निकै सास्ती खेपिरहेका छन् ।