२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

किसानलाई धानको मूल्य पाउन समस्या

shivam cement
२०८२ मंसिर ६ गते २१:३४
Shares
किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ । कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने बताउन थालेपछि आफू समस्यामा परेको किसानले बताएका छन् । 

‘व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन,’ गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने । कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो । 

थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुंगो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए । कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयले मोहनपुरबाट गत १२ कात्तिकदेखि र टीकापुर, सत्ती, जोशीपुर भजनी, गौरीगंगा क्षेत्रमा कात्तिक १६ देखि धान खरिद गर्न थालेको थियो । 

निजी व्यापारी (गल्ला व्यापारी)ले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यको तुलनामा निकै कम अर्थात् प्रतिक्विन्टल दुई हजार ६०० सम्ममा धान खरिद गर्ने गुनासो किसानको छ । कार्यालय प्रमुख थापाले यस वर्ष ३५ हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा योभन्दा थप तीन हजार क्विन्टल बढी धान खरिद गरिसकिएको जानकारी दिए । 

उनले भने, ‘उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको टोलीले कैलालीमा किसान र उत्पादनको परिमाणका बारेमा स्थलगत अध्ययन गरी फर्किएको छ, कोटा थप नभएसम्म धान खरिद गर्न सकिने अवस्था छैन ।’

सरकारले यस वर्ष प्रतिक्विन्टल मोटा धान तीन हजार ४६३, पैसा ८१ र मध्यम धानको तीन हजार ६२८ पैसा ३३ न्यूनतम् समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान र मध्यमधानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेपनि कैलालीको हकमा कम्पनीले विगतमा जस्तै मोटा धान मात्र खरिद गर्दै आएको छ ।

किसानले धानको उचित मूल्य नपाइरहेको अवस्थामा व्यापार कम्पनी लिमिडेडले खरिदको व्यवस्था गर्दा उचित मूल्य पाएर राहत मिलेपनि थप किसानको धान भने बिक्री हुन सकिरहेको छैन । कैलालीमा गत वर्ष झण्डै ५० हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएकामा ३४ हजार ५०१ क्विन्टल खरिद गरिएको थियो ।

सरकारले समयमै न्यूनतम् समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पुर्‍याउने गरेको किसानको भनाइ छ । नेपालमा वर्षेनी रु २० अर्ब हाराहारीको धान र चामल भारतबाट आयात हुने गरेकामा गत वर्ष ४३ अर्ब बराबरको धान र चामल आयात भएको जनाइएको छ । 

भारतबाट सस्तो मूल्यमा आयातित धान निजी व्यापारीका गोदाममा अझैँ मौज्दात रहेकोको अवस्थामा व्यापारीले थप धान खरिद गर्न नसक्दा स्थानीय उत्पादनले बजार पाउन नसकिरहेको कार्यालय प्रमुख थापाले बताए ।

ADV

सम्बन्धित खबर