
रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा विकास तथा सामुदायिक सेवाअन्तर्गत थ्रिएसआर परियोजनाको आयोजनामा भएको कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रका मुद्दामा विस्तृत संवाद गरिएको थियो ।
जहारीखोला बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा वडा नम्बर १०, ११ र १२ का कृषि तथा पशुपालन आमा समूहका करिब ४० जना सदस्यको सहभागिता थियो । चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी प्रमुख अतिथि रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा चौरजहारी नगरपालिका अन्तर्गतका १४ वटै वडामा कृषिको वर्तमान अवस्था, चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा आगामी योजनाबारे नगर प्रमुख वादीले जानकारी गराए । विशेषगरी बीउ, मल र कृषि औजारको उपलब्धता, उत्पादनको मूल्य निर्धारण, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने उपाय, स्थानीय बजार विस्तार तथा सहकारीमार्फत उत्पादन वितरण गर्ने प्रणालीबारे विस्तृत छलफल गरिएको थियो ।
सिंचाइ सुविधाको विस्तार, नहर तथा ट्युबवेल व्यवस्थापन, जलवायु परिवर्तनका असर- जस्तै अनियमित वर्षा वा सुक्खा अवस्थालाई सामना गर्ने रणनीति, पशुपालनमा रोग नियन्त्रण, भ्याक्सिन तथा पशुचिकित्सा सेवा उपलब्धता जस्ता विषय कार्यक्रमका मुख्य एजेन्डा बने ।
परियोजना संयोजक सुदीप खत्रीका अनुसार फलफूल, तरकारी तथा मत्स्यपालनजस्ता वैकल्पिक कृषि पद्धतिलाई प्रोत्साहन गर्ने, आधुनिक खेती प्रविधिको तालिम सञ्चालन गर्ने, मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत किसानलाई आवश्यक जानकारी उपलब्ध गराउने योजनाबारे पनि छलफल गरिएको थियो ।
परियोजना अधिकृत सुदीप खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र रोकाय, वडा नम्बर ११ का अध्यक्ष तुल्से ओली, वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण शर्मा तथा परियोजनाका प्राविधिक राजेश्वर शर्माको पनि उपस्थिति रहेको थियो ।