२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

देशलाई भ्रष्टाचारमुक्त गर्न विद्रोही भावना आवश्यक : उपेन्द्र यादव

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर ७ गते २१:५५
Shares
देशलाई भ्रष्टाचारमुक्त गर्न विद्रोही भावना आवश्यक : उपेन्द्र यादव

रौतहट : जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकलाई भ्रष्टाचारबाट निकाल्न समय–समयमा विद्रोही भावना आवश्यक रहेको बताएका छन् । 

आइतबार जसपा नेपाल रौतहटले दुर्गाभगवती गाउँपालिका–४ पचरुखीमा आयोजना गरिएको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालसँग संसारकै विकसित देश बन्ने सबै सम्भावना र आधार हुँदाहुँदै पनि प्रमुख पार्टीहरूको गलत नीति, चरम भ्रष्टाचार र बेथितिका कारण देश आर्थिक तथा राजनीतिक रूपमा पछि परेको जिकिर गरे । 

‘नेपालमा विकासका अपार सम्भावनाहरू छन्। हामीसँग प्राकृतिक स्रोत, युवा शक्ति र उर्वर भूमि छ,’उनले भने,‘तर नेपाली कांग्रेस र कम्युनिस्ट नेतृत्वमा लामो समयदेखि भएको चरम भ्रष्टाचार र बेथितिहरूले देशलाई गम्भीर संकटतर्फ धकेलेको छ ।  यी शक्तिहरू जनताको भन्दा आफ्ना नेता र कार्यकर्ताको स्वार्थमा केन्द्रित रहे ।’

अध्यक्ष यादवले मुलुकमा सुशासन र विकासको वातावरण निर्माण हुन नसक्नुको मूल कारण भ्रष्ट नेतृत्व रहेको बताए । 

‘जबसम्म जनतामा विद्रोही भावना जाग्दैन र भ्रष्ट नेतृत्वविरुद्ध आवाज उठाइँदैन, तबसम्म देशले मुक्ति पाउँदैन,’उनले भने,‘त्यसैले समय–समयमा विद्रोह आवश्यक छ, ताकि देश सही मार्गमा फर्कियोस् ।’

कार्यक्रममा उनले जसपा नेपाल वैकल्पिक राजनीतिक शक्ति भएर देश र जनताको हितमा काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । पार्टीको सिद्धान्त र लक्ष्यप्रति विश्वास गरेर प्रवेश गरेका दर्जनौँ नयाँ सदस्यलाई उनले स्वागत गरे ।

यादवले जसपा नेपालले मधेसका मात्र नभई देशभरका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका मुद्दा बोकेको दाबी गर्दै, स्थानीय तहका कार्यकर्तालाई पार्टीको सन्देश गाउँ–गाउँसम्म पु–याउन र जनसमस्याको समाधानमा सक्रिय रहन निर्देशन दिए । कार्यक्रममा रौतहट जिल्लाका जसपा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष यादवले भेटघाटका क्रममा स्थानीय समस्याबारे जानकारी लिएका थिए ।

ADV

सम्बन्धित खबर