२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

जेनजी आन्दोलन नस्वीकार्दा एमालेसँग टकराव

shivam cement
सपना बोहरा
२०८२ मंसिर १० गते ०६:२५
Shares
जेनजी आन्दोलन नस्वीकार्दा एमालेसँग टकराव

काठमाडौं : जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच बारामा भएको झडप ताजै छ । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा नओर्लिंदै दुई पक्षबीच झडप भयो । सोही कारण दुई दिनसम्म सिमरा क्षेत्र तनावग्रस्त बन्न पुग्यो ।

त्यो घटना सेलाउन नपाउँदै जागरण सभाका लागि सुर्खेतको वीरेन्द्र नगर पुगेका बस्नेतविरुद्ध जेनजी समूहले विरोध प्रदर्शन गरे । उनी पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका थिए । युवा संघको कार्यक्रमलाई सम्बोधन गर्न नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे, वकिल बमलगायत नेता सुर्खेत पुगेका थिए । जेनजी समूहले त्यहाँ पनि विरोध प्रदर्शन गरे । 

जेनजी आन्दोलनकारी र एमालेबीच भएका यी पछिल्ला टकराव मात्र हुन् । २३–२४ भदौको आन्दोलनले सत्ता उलटफेर गरेपछि आन्दोलनकारी र एमाले आमनेसामनेजस्तै हुँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता नभएरै सञ्चालन भइरहेको भन्दै सामाजिक सञ्जाल बन्द गराएपछि नै युवा पुस्ता विरोधमा थियो । युवाहरूको भ्रष्टाचारविरुद्धको आन्दोलनमा यो मुद्दा पनि जोडिएपछि यसले अर्कै मोड लिएको थियो । त्यसरी सुरु भएको मनमुटाव अहिले पार्टीका सभा रोक्ने तहमा आइपुगेको छ । 

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टीको नेतामा सिमित हुँदासम्म पनि आन्दोलनकारीको निशानामा एमाले परिरहेको छ । चुनाव घोषणा भइसकेको पृष्ठभूमिमा पार्टी कार्यक्रम रोक्ने र नेतालाई छेक्ने कार्यले थप झडपको जोखिम पनि बढाएको छ । जेनजी नेता रक्षा बमले एमाले पार्टीले जेनजी पुस्ताले आन्दोलनपछि ल्याएको परिवर्तन नस्विकारेको बताइन् । ‘जेनजीहरू त उहाँको पार्टीमा पनि हुनुहुन्छ तर जेनजीले ल्याएको परिवर्तन उहाँले स्वीकार्न चाहनु भएको छैन,’ उनले भनिन् । 

एमाले अध्यक्ष ओली र उनका कार्यकर्ताले जेनजी समूहप्रति गरेका कटाक्ष, टीकाटिप्पणी सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा बढ्दै गइरहेको छ । अर्कोतर्फ जेनजी समूहहरू पनि आक्रामक बन्दै गइरहेका छन् । तत्कालीन ओलीलगायत मुख्य दलका शीर्ष नेताले जेनजी आन्दोलनले ल्याएको परिवर्तन स्विकार्नुपर्ने सो समूहको अडान छ । राजनीतिक विश्लेषक भीम भुर्तेलले एमाले पार्टीले खुलेरै जेनजी आन्दोलनलाई नस्वीकारेको बताउँछन् । ‘जेनजीलाई स्वीकार्दैनांै भन्न पाउने एमालेको अधिकार को कुरा हो, त्यो स्वाभाविक नै छ,’ उनले मध्यान्हसँग भने, ‘त्यसका परिणाम पनि आफैंले स्वीकार्ने हो । जेनजी पुस्ताले निर्वाचनमा चुनाव जितेर प्रतिनिधि सभामा गयो भने एमाले पार्टीलाई स्विकार्न करै लाग्छ ।’ 

जबसम्म जेनजीले ल्याएको परिवर्तनलाई एमाले पार्टीले स्विकार्दैन, तबसम्म बहिष्कार भइरहने नेता बमको टिप्पणी छ । ‘जेनजीले ल्याएको परिवर्तनलाई एमाले पार्टीले अराजक, आतंककारीको संज्ञा दिइएको छ, त्यो हामीलाई स्वीकार्य छैन’ उनी भन्छिन्, ‘हामीले त स्पष्ट आह्वान गरेकै छौं, निर्वाचनमा जाऔं । तर उहाँहरू चाहनु हुँदैन । हामीले बहिष्कार गर्ने भए त अन्य पार्टीलाई पनि गथ्र्यौं होला त ?’ जेनजीको शान्तिपूर्ण मागलाई एमालेका कार्यकर्ताहरूले बिथोल्न खोज्ने, भाँड्नेलगायतका कार्य भएको उनको आरोप छ । एमाले पार्टीले जेनजी समूहलाई लक्षित गरेर दिएका नकारात्मक प्रतिक्रिया नै वहिष्कारको मुख्य कारण भएको उनी बताउँछिन् । 

एमालेका निवर्तमान प्रमुख सचेतक एवं केन्द्रीय सदस्य महेश बर्तौलाले जेनजी समूहहरूले लगाएको अरोप वाहियात भएको टिप्पणी गरे । देशको आगामी नेतृत्व जेनजी पुस्ता नै भएकाले उनीहरूको सिर्जनशील कामलाई साथमा लिएर नेकपा एमाले अगाडि बढेको उनको दाबी छ । 

जेनजीहरूको भावना एमालेले मात्रै बुझेको उल्लेख गर्दै बर्तौलाले भने, ‘जेनजी समूहहरूसँग मेलमिलाप, सहिष्णुता, समन्वय कायम गरेर नेकपा एमाले अगाडि बढ्न चाहेको छ । तर केही अराजकतावादीले भ्रम फैलाइरहेका छन् ।’ पार्टीले आयोजना गरेको सभा बिथोल्न जेनजी समूह नभएर अरू नै घुसपैठ हुने गरेको उनको आरोप छ । जेनजी पुस्तासँग पार्टीको कुनै प्रतिशोध र पूर्वाग्रही नभएको उनी बताउँछन् । 

ADV

सम्बन्धित खबर