
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठुला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनुपर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ ।
ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरु अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे ।
उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।
औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।