
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तर पश्चिम पृतना हेडक्वार्टरमा सोमबारदेखि सुरु भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको उत्तर पश्चिम पृतना हेडक्वार्टरले जानकारी दिएको छ ।
पत्रकारहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका र विविध गतिविधिहरूका बारेमा सुसूचित गर्ने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेशका आठ (डोल्पा, जुम्ला, हुम्ला, दैलेख, मुगु, जाजरकाेट, कालिकोट, सुर्खेत) र लुम्बिनीका दुई (बाँके र बर्दिया) जिल्लाका २४ जना सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि तथा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेशजंग शाहले कार्यक्रममा उपस्थित २४ जना सञ्चारकर्मीलाई बधाई दिँदै प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाली सेनाद्वारा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमबाट कर्णालीसँगै लुम्बिनीका विभिन्न जिल्लामा कार्यरत सञ्चारकर्मीहरूलाई रक्षा क्षेत्रसम्बन्धी समाचार संकलन र सम्प्रेषणमा थप सहजता, स्पष्टता र विश्वसनीयता स्थापित हुन मद्दत पुग्ने पृतनापति शाहले जानकारी दिए ।
सो अवसरमा पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका कर्णाली र लुम्बिनीका गरी ९ वटा एफएम रेडियो स्टेसनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयका तर्फबाट नगद प्रोत्साहन तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।
चारदिने अभिमुखीकरण कार्यक्रमका दौरान सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनासम्बन्धी विविध गतिविधि, भूमिका र संरचनाबारे विस्तृत जानकारीसहित विपद् प्रतिकार्य, समसामयिक विषयवस्तुबारे जानकारी, नेपाली सेनाले गरेका विकास निर्माणका काम, एकआपसमा अन्तरक्रिया तथा स्थलगत अध्ययन–भ्रमणमार्फत व्यावहारिक अनुभव हासिल गरेको पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद शर्माले बताए ।
नेपाली सेनाले केन्द्रीय स्तरदेखि सबै पृतनास्तरसम्म प्रत्येक वर्ष सञ्चारकर्मीलाई रक्षा क्षेत्रसम्बन्धी समाचार संकलन र सम्प्रेषणमा थप सहजता, स्पष्टता र तथ्यपरकता प्रदान गर्ने विश्वास सहित अभिमुखीकरण कार्यक्रममको आयोजना गर्दै आइरहेको छ ।
उपसेनानी श्रीजना नेपालले सञ्चालन गरेको कार्यक्रममा सेनाले राष्ट्रको सुरक्षादेखि विकास र संरक्षणका क्षेत्रमा गरिरहेका योगदानलाई समेत विशेष रूपमा उजागर गरेको थियो ।