२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

कर्णाली करिडोर निर्माणमा तीव्रता

योजना प्रमुख बिसुनदास लामा दिनरात खटिँदै

shivam cement
२०८२ मंसिर ११ गते २०:५६
Shares
कर्णाली करिडोर निर्माणमा तीव्रता

बाजुरा : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । नेपाल–भारत सीमास्थित बाँकेको जमुनाहदेखि चीन सीमास्थित हुम्लाको हिल्सा जोड्ने ६ सय ८२ किलोमिटर लामो यो करिडोरको कामलाई द्रुत गतिमा अघि बढाइएको आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । 

कर्णाली प्रदेशको हुम्ला सदरमुकामसम्म गत आर्थिक वर्षमै ट्रयाक खुलेपनि सडक लामो, कठिन र दुर्गम भएकाले आवश्यक पक्की पुल निर्माण र स्तरोन्नति कार्य बजेट अभावका कारण समयमा हुन नसकेको स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन् । 

२०५६ सालमा शिलान्यास गरिएको यो करिडोरअन्तर्गत खुलालु–सालिसल्ला सडक खण्डको १ सय २३ किलोमिटर ट्रयाकमध्ये नेपाली सेनाले ७ मिटर चौडा ट्रयाक २०७८ असार मसान्तमा खोली सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । त्यसपछि आयोजना कार्यालय स्थापना भई नियमित रूपमा काम अघि बढेसँगै कार्यले द्रुत गति लिएको योजना प्रमुख लामाले बताए ।

सडक विभागअन्तर्गत कर्णाली करिडोर आयोजनाले हिल्सा–सिमकोट–सालिसल्ला खण्डमा ट्रयाक खोल्ने काम पूरा गरिसकेको छ । हाल सिमकोट–सालिसल्लाको कठिन भागमा नेपाली सेना ट्रयाक खोल्ने कार्यमा संलग्न छ । 

हालसम्म १ सय २३ किलोमिटर सडक हस्तान्तरण भइसकेपछि सडक विभागले हुम्ला र बाजुरा गरी दुईवटा योजना कार्यालयमार्फत खुलालु–सालिसल्ला १ सय २३ किलोमिटर र सालिसल्ला–हिल्सा १ सय ४० किलोमिटर गरी २ सय ६३ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढाइरहेको छ । 

लामाको नेतृत्वमा विकट क्षेत्रमा कामले लियो गति

हुम्ला सडक संजाल जोड्न सफल योजना प्रमुख बिसुनदास लामा हाल बाजुरामा पुनः खटिएपछि विकट क्षेत्रमा निर्माण कार्यले थप गति लिएको छ ।

लामाका अनुसार मुख्य चुनौती हुम्ला सदरमुकामसँग देशका सडक सञ्जाललाई वर्षभरि अवरुद्ध नहुने गरी जोड्नु रहेको छ । सडक स्तरोन्नति, पहिरो नियन्त्रण र द्रुत रूपमा निर्माण कार्य अघि बढाउने तयारी रहेकाले सुर्खेत–हुम्ला यात्रा एकै दिनमा सहज बनाउने लक्ष्यसहित कार्य भइरहेको उनले बताए ।

वर्तमान चरणमा बाजुराको पिलुचौर–कवाडी खण्डबाट स्तरोन्नति कार्य सुरु गरिएको छ । साथै कालिकोट र हुम्ला खण्डमा पनि यसै वर्ष बजेट सुनिश्चित गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

देशका विभिन्न दुर्गम क्षेत्रका सडकमा कामको अनुभव बोकेका लामालाई सडक विभागले यो आयोजना जिम्मा दिएपछि करिडोरको निर्माण कार्यले उल्लेख्य प्रगति गरेको बताइएको छ । 

ADV

सम्बन्धित खबर