
काठमाडौं : पाँच वर्षअघि तेजाब आक्रमणमा पर्दा मुस्कान खातुन भर्खर १६ वर्षकी थिइन् । उनले आफ्नो उपचारका लागि मात्र होइन्, आफूजस्तै हिंसामा परेका महिलाको न्यायका लागि संघर्ष गरिन् । तेजाब आक्रमणविरुद्ध कडा कानुन बनाउने अभियानको नेतृत्व गरिन् । उनै मुस्कानले बिहीबार राजनीतिक यात्रा सुरु गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दै उनले भनिन्, ‘जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन ।’
वीरगन्जकी मुस्कान २०७६ साल भदौ २० गते एसिड आक्रमणमा परेकी थिइन् । लामो उपचारपछि घाउ निको भए पनि अनुहारमा अझै पनि दाग छन् । त्यतिबेला उनी कक्षा ९ मा पढदै थिइन् । स्कुल जान लागेका बेलामा एक युवकले उनीमाथि तेजाब खन्याएका थिए । ती युवकले गरेको प्रेम प्रस्ताव मुस्कानले अस्वीकार गरेका थिए । त्यसैको बदलामा युवकले साथीसँग मिलेर मुस्कानमाथि तेजाब आक्रमण गरेका थिए । तेजाबले जलेर उनको अनुहार र शरीरमा गम्भीर चोट पु¥याएको छ । अनुहार, कानलगायत शरीरका भागमा अहिले पनि दाग देखिन्छ ।
एसिड आक्रमणपछिको जलेका घाउ, शारीरिक परिवर्तन र मानसिक पीडाका बाबजुद पनि मुस्कानले आफ्नो पीडा नलुकाई समाजको अगाडि ल्याइन् । आत्मविश्वास जोगाइरहिन् । एसिड आक्रमणपछि आफ्नो पीडालाई व्यक्तिगत घटनामा सीमित नराखेर महिला हिंसाविरुद्धको बुलन्द आवाज र आन्दोलनमा परिणत गरिन् । एसिड आक्रमणविरुद्ध जनचेतना जगाउन, पीडितहरूलाई न्याय र सुरक्षा सुनिश्चित गर्न नेतृत्व गरिन् । सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) सम्मान पनि प्रदान गरेको थियो ।
राजनीतिक सभामा पनि उनले आफ्नो सामाजिक अभियान सुनाउन भुलिनन् । ‘तेजाब आक्रमण मात्रै होइन, यस्ता धेरैवटा हिंसा छन्, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ,’ मुस्कानले भनिन्, ‘अगाडि बढेका पाइला पछि नपार्नुहोला ।’
आफू नेकपामा प्रवेश गरेको घोषणा गर्दै उनले सबै जेनजीलाई एकता गर्न अपिल पनि गरिन् । ‘सम्पूर्ण जेनजीलाई अनुरोध गर्छु कि हामी एक हुन जरुरी छ । हामीबीच एकता भयो भने हाम्रो देश प्रगति हुनेछ । भ्रष्टाचारको अन्त्य हुनेछ,’ मुस्कानले भनिन्, ‘हामी एकजुट भएर काम गर्यौं भने अवश्य पनि हिंसाको पनि अन्त्य हुनेछ ।’
तेजाव आक्रमणविरुद्धको अभियन्ताको परिचय बनाएकी मुस्कानलाई नेकपाले केन्द्रीय सदस्य बनाएको छ । उनलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधवकुमार नेपालले मुस्कान एउटा ब्रान्ड भएको बताए । एक कदम अघि बढेर पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुस्कानलाई बिहीबारको कार्यक्रमको ‘हिरोइन’ भने । ‘आजको हिरोइन मुस्कान हुन् । बिहानसम्म तानातान थियो । अब उनी नेपाली कम्युनिस्ट पार्टीकी हुन्,’ प्रचण्डले भने ।