२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

प्रधानमन्त्रीज्यू, हामीलाई फेरि धोका नदिनुहोस्

shivam cement
भावना राउत
२०८२ मंसिर १२ गते १४:०६
Shares
प्रधानमन्त्रीज्यू, हामीलाई फेरि धोका नदिनुहोस्

सम्माननीय प्रधानमन्त्रीज्यू,

सडकमा सहिदका रगत अझै आलै छन्, आमाका आँखा अझै न्यायकै प्रतीक्षामा छन् । तर उनीहरू जेका लागि लडे त्यही मर्म यो सरकारले बिस्तारै व्यर्थ बनाइरहेको छ । हाम्रो प्रश्न कुनै व्यक्तिमाथि होइन, प्रवृत्तिमाथि हो । संसारले गलत भनेका मान्छेलाई राज्यले तामा–तुलसी चढाएर चोख्याउँदै लैजानु गलत हो, यो सहिदका बलिदानमाथिको अपमान हो । यदि “म नै म” भन्ने प्रवृत्ति चलिरहने हो र बाहिर उठेका आवाज सुन्ने इमानदारीता नहुने हो भने, ओली सरकार र नागरिक सरकारबीच मैले खासै फरक देख्दिनँ ।

जिन्दगीभर न्यायका प्रतिमूर्ति भएको तपाईंको छवि हामीलाई हौसला थियो । यो उमेरमा आएर विवादित बन्नुहुन्छ कि भन्ने डर लागिरहेको छ । सहिदको रगतलाई लिएर घिनलाग्दो राजनीति नगरिदिनुहोस्, अरूलाई गर्न पनि नदिनुहोस् । हामी जस्ता हजारौं युवाले यो सरकार का लागि आफु ढाल बनेर उभिएका छौं । महेश बस्नेत र ओलीका धम्की, अभिव्यक्तिले कहिल्यै पनि हामीलाई हराउन सकेन । किनकि हामीलाई विश्वास थियो, हाम्रो न्यायका प्रतिमूर्ति, हाम्रो ‘श्रीमान’ आज प्रधानमन्त्री हुनुहुन्छ । न्याय अवश्य हुन्छ । तर आज पहिलो पटक हारेको महसुस भएको छ ।

सपथ लिएको दिन तपाईंले "एक–एकलाई कारबाही हुन्छ" भनेर हात समातेर गर्नुभएको बाचा हामीलाई अझै याद छ । बीचमा धेरै कुरा भए, लाग्यो समय दिनुपर्छ । दशैं, तिहार, छठ एकपछि अर्को उत्सव बिते, हामी भने आशा बोकेर कुर्दै बस्यौं । नरसंहार गर्ने पक्राउ पर्छ भन्ने अपेक्षा हराउँदै गयो । “छानबिन आयोगको प्रतिवेदन पर्खनुपर्छ, अब प्रधानमन्त्री वा गृहमन्त्रीको हातमा छैन” भनेर आफूलाई चित्त बुझाइयो । मन्त्रिपरिषद् विस्तारमा विवादास्पद नामहरू आयो । ‘प्रधानमन्त्रीको स्वविवेक होला’ भनेर आफूलाई सम्झाएँ । तर समान सहभागिता चाहिन्छ भनेर लगातार कराइरह्यो । पहिलो महिला प्रधानमन्त्री भएको, नागरिक समाजले नेतृत्व गरेको बेला राज्यले वर्षौंदेखि बेवास्ता गरिएका महिला आवाजहरूलाई ठाउँ दिनुपर्छ भनेर म बारम्बार लडिरहें । तर त्यो आवाज स्वार्थका ठुला–ठुला हातहरूले थिचिदिए, तपाईंले सुन्नु भएन… वा सुन्न चाहनु भएन । एकदिन इतिहासले अवश्य सम्झनेछ कि हामी कति थाम्यौं, कति पचायौं र कति चोटहरू सह्यौं सिर्फ न्यायका लागि । 

तर आज जे भइरहेको छ, गलत भइरहेको छ ।

म बन्द कोठाभित्रको निरन्तर द्वन्द्वबाट थाकिसकेकी छु । सम्झाउँदै थाकिसकेकी छु, सम्झिँदै थाकिसकेकी छु । इतिहासले यो नागरिक सरकार लाई “एक व्यक्तिको स्वार्थ समूहले चलाएको” भनेर नलेखोस् भन्ने मात्र चाहना हो ।

हामीलाई फेरि धोका नदिनुहोस् । किनकि यदि यो पटक पनि धोका भयो भने, यो पुस्ता आशा लिएर फेरि उठ्न सक्छ कि सक्दैन, म निश्चित छैन ।

(माथि) तस्बिर- तपाईंलाई तपाईंले आफैं दिनुभएको बाचा सम्झाउनका लागि ।

ADV

ताजा खबर

सम्बन्धित खबर