
प्रतिनिधि कमरेडहरू
हार्दिक अभिवादन
एमाले पार्टीको ११औं महाधिवेशन प्रतिनिधि भएर आउनु भएका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अभिवादनसहित काठमाडौँमा स्वागत छ । तपाईंहरूको अधिवेशन सफल रहोस् ।
यतिखेर तपाईंहरूको यो अधिवेशनप्रति सवैको ध्यान छ । सबैले आआफ्नो स्वार्थअनुुसार यो अधिवेशनको सफलता नै चाहिँरहेका छन् । मलाई लाग्छ, विचारधारात्मकहिसावले आजको एमालेप्रति खासै कसैको विरोध छैन । आजको एमाले लगभग सवै विचार र प्रवृत्तिको साझा घर हो । त्यसैले त यसको महासचिव शंकर पोखरेल भन्नुहुन्छ,‘एउटा बलियो निर्णायक राष्ट्रिय शक्ति बनाउँ।’ राष्ट्रिय शक्ति भनेको वामपन्थी वा कम्युनिष्टमात्र होइन, राजवादीहरू र बुर्जुवाहरूसहितको एउटा बलियो निर्णायक शक्ति भनेको हो । जो निरन्तर सत्तामा बसिरहोस, अथवा नितिका हिसावले र कार्यक्रमका हिसावले कसैले एमालेको आलोचना नगरोस् । एमालेलाई वामपन्थी वा कम्युनिष्ट पार्टी मात्र बनाउँदा देशी विदेशी प्रतिक्रियावादीहरूको कर्के नजर यो पार्टीमाथि पर्न सक्छ । निरन्तर सत्तारोहणमा समस्या हुन सक्छ । त्यसकारण राष्ट्रिय शक्तिका नाममा विचारधारात्मकहिसावले साझा पार्टी बनाउँदा जोखिम कम हुने कुरा कमरेड महासचिवलाई राम्रै थाहा छ । त्यसकारण त उहाँ वारम्बार निर्णायक शक्ति र राष्ट्रिय शक्ति भनिरहनु हुन्छ ।
पार्टीकै महासचिवको यस्तो धारणा भएपछि एमाले पार्टी एउटा साझा मन्चको रुपमा विकास हुने नै भयो । यस्तो साझा मन्चको महाधिवेशनमा सवैले चासो राख्नु र थप नियन्त्रणको कोसिस गर्नु अस्वभाविक पनि होइन । त्यसकारण राजेन्द्र लिङ्ग्देनहरूको अधिवेशनप्रति अतिरिक्त चासो छ, किनकी उनलाई आगामी निर्वाचनमा झापाली एमालेको भोट चाहिएको छ । कमल थापा र ह्दयसहरूलाई आउने निर्वाचनमा एमाले पार्टीको चुनाव चिन्ह सुर्य आवश्यक छ । त्यसकारण उनीहरू पनि तपाईंहरूको अधिवेशनलाई ध्यानपुर्वक हेरिरहेका छन् । पशुपति दयाल मिश्रहरू दुर्गा प्रसाईहरू, कोमल ओलीहरू त संगठनमै पुग्नु छ । एकनाथ ढकाल, दुगड, गोल्छा, चौधरीहरूलाई धेरै सांगठनिक झमेला मोल्नु छैन, सिधै सांसद हुनु छ । त्यसकारण पनि यो महाधिवेशन उनीहरू सवैको साझा चासोको विषय बनेको हो ।
मैले पनि तपाईंहरूको महाधिवेशनलाई दिल खोलेर स्वागत गरेको छु । सफलताको शुभकामना व्यक्त गरेको छु । मेरो शुभकामनामा पनि स्वार्थ छ । त्यो हो,वर्गीय स्वार्थ । म चाहान्छु, तपाईंहरू यो महाधिवेशनवाट वामपन्थी बाटोमा फर्किनुहोस् । एमाले जस्तो एउटा राम्रो जनाधार भएको र देशभक्तहरू भएको पार्टीको निरन्तर बुर्जुवाकरणले नेपालको वाम आन्दोलन धरापमा परेको महसुस मैले मात्र गरेको होइन, देशभित्र र बाहिरका वाम बुद्धिजिवीहरूले पनि निरन्तर गरिरहेका छन् ।
मलाई लाग्छ, यतिखेर एमाले दोबाटोमा होइन, चौबाटोमा खडा छ । यो महाधिवेशनमा उसले आफ्नो बाटो निर्क्यौल गर्नुपर्ने छ । उसले यतिखेर घोषितरूपले नै ंनिर्णायक राष्ट्रिय शक्ति’ बनाउने भन्दै बामपन्थी बाटो छोड्यो भने हाम्रो मुलुकको वाम आन्दोलनले त ठुलै धक्का खान्छ, त्यसबाहेक दक्षिण एशियाकै समग्र बाम आन्दोलन पछाडि पर्ने निश्चित छ । पश्चिम वंगालमा वामपन्थीहरूको पतनले यो क्षेत्रकै वाम आन्दोलन कमजोर भयो । यसको क्षतिपुर्ति श्रीलंकाले गरेपनि एमाले पतनको क्षतिपुर्ति तिर्न सिंगै दक्षिण एशियालाई ठुलै समय लाग्न सक्छ । तसर्थ एमाले महाधिवेशनका प्रतिनिधिहरूको काँधमा ठुलो जिम्वेवारी छ भन्ने म ठान्दछु । तपाईंहरूको सानो गल्तीले लाखौ मानिसहरूको समाजवाद स्थापना गर्ने चाहना धरापमा पर्नसक्छ ।
म प्रतिनिधि कमरेडहरूलाई अलिकति इतिहास सम्झाउँ, एमाले भन्ने पार्टी कुनै दिन एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी थियो । मालेका नाममा यो पार्टीले ठुलो सहादत र त्याग ब्यहोरेको छ । यसको अथक मेहेनत र बलिदानले नै पञ्चायत ढलेको हो । पञ्चायन नढलेको भए यो पार्टीमा क।मनमोहन आउनुहुने थिएन । क।मनमोहन नआउनु भएको भए एमाले बन्ने थिएन । एमाले भन्ने पार्टी विशाल बन्नु र यसले सामाजिक स्विकृति पाउनुमा क।मनमोहन अधिकारीको ठुलो योगदान छ । यो विशाल पार्टीलाई जबजको नाममा वैचारिक दिशा प्रदान गरेर क।मदन भण्डारीले समग्र वाम आन्दोलनलाई ठुलो गुन लगाउनु भएको थियो ।
दुर्भाग्य भन्नुपर्छ, मनमोहन अधिकारी र मदन भण्डारीको असामयिक देहावसान पछि यो पार्टीको गरिमा र गौरव दुबै कमजोर हुँदै गयो । तत्पश्चात नेतृत्वमा आउनुभएको क।माधवले यसको विरासत नै थेग्न सक्नुभएन । क। माधवकै पालामा ‘एमाले– पोथी न भाले’ भन्ने व्यंग्य विकास भएको थियो । माधव नेपालको क्षमताहिनतामा नै ओली र ओली प्रवृत्ति एमालेमा हावी भएको कुरा साँच्चै होइन र ? ध्यान दिनुहोला कमरेडहरु, यो प्रवृत्ति अहिले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ का नाममा वामपन्थतावाट विचलित हुन खोजिरहेको छ ।
कमरेड प्रतिनिधि साथीहरू, यतिखेर तपाईंहरू एउटा ठुलो जिम्वेवारी बोकेर चिसो काठमाडौंमा आउनु भएको छ । एमालेको यो महाधिवेशन नियमित महाधिवेशन मात्र होइन । हाम्रो मुलुक र सिङ्गै दक्षिण एशियाको वाम आन्दोलनको भविष्य तपाईंहरूको हातमा छ । ‘सच्चिने कि सक्किने’ यो दोसाँधमा तपाईंहरूको बुध्दिमत्ता र सही निर्णय क्षमताले आम मान्छेहरूको न्यायिक र समतामुलक समाज निर्माण गर्ने चाहनामा ठुलो प्रभाव पर्ने वाला छ ।
कम्तिमा यो महाधिवेशनले जनताको बहुदलीय जनवादतर्फ पुनः फर्किने निर्णय गर्यो भने समाजवादी कार्यदिशाको फराकिलो राजमार्गमा पुग्ने ढोका खुल्नेछ । त्यो महान राजमार्गमा पुग्नुभयो भने कमरेडहरू, कतै कुनै मोडहरूमा र घुम्तीहरूमा हामी फेरि भेटिन सक्छौं । क्रान्ति र समाजवादका लागि हाम्रा हातहरू मिल्न जरुरी छ ।
हाम्रो आफ्नै इतिहास सम्झिनुहोस् त कमरेडहरू, हामीले कस्तो राम्रो एमाले बनाएका थियौं । हामी वडादेखि केन्द्रसम्म हार्दिकतापूर्णढंगले प्रतिष्पर्धा गर्थ्यौं । प्रतिष्पर्धावाट श्रेष्ठता भन्ने त हाम्रो नारा नै थियो । रगतको नाताभन्दा विचारको नाता प्रिय हुन्छ भन्दै सुखदुख बाढ्ने गर्थ्यौं । नेताहरूप्रति कति अगाध माया र आस्था थियो । यो मैले हिजोको एमालेको कुरा गरेको हो । आजको एमाले यस्तो छ रु छातीमा हात राखेर सोच्नुहोस त कमरेड, हिजोको एमाले र आजको एमाले उस्तै हो ? त्यहि गौरव आजको एमालेमा छ ? हिजोको एमालेलाई गरेको जस्तो माया आजको एमालेलाई जनताहरूले गर्छन् त ? हिजो एमाले नेताहरूको सुरक्षा आम जनताहरूले गर्दथे । आज एमाले नेताहरूको सुरक्षा भाडाका मान्छेहरूले गरिरहेका छन । यस्तो परिस्थिती बन्नमा को जिम्वेवार छ ? यसका वारेमा आसन्न महाधिवेशनमा छलफल गर्न सक्नुहुन्छ ? हामी त्यो दुश्य हेर्न आतुर छौं ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणका नाममा प्रतिक्रियावादीहरूको जतिसुकै सेवा गरेपनि उनीहरूले तपाईंहरूलाई माफ गर्ने वाला छैनन् । मसिनै कुरा गरेर प्रतिक्रियावादीहरूले प्रयोग त गर्छन् तर नाम र झण्डाका कारणले तपाईंहरूलाई उनीहरूले काखमा राख्दैनन् । देख्नुभएन भदौ २४ गते उनीहरूले हँसिया हथौडा खोजी खोजी जलाए । तर हसिया हथौडा बोक्ने पार्टीकै सुप्रिमोहरूलाई भने हेलिकप्टर चढाएर जोगाए । यस्तो किन भयो कमरेड १ यस्का वारेमा गम्भीरतापुर्वक सोच्नुभएको छ ? उनीहरू हाम्रो झण्डा र विचारलाई घृणा गर्छन्, तर हाम्रा नेताहरूप्रति प्रेम छ । किनकी हाम्रा नेताहरू उनका खेताला भैसकेका छन् । उनीहरू विकिसकेका छन् । यदि उनीहरू नबिकेका भए ६ जना कम्युनिष्ट नामधारी प्रधानमन्त्री यो मुलुकले पाइसक्दा उपचार नपाएर मान्छे मर्न पर्दैन थियो । आम मान्छेका छोेराछोरीहरू बेरोजगार हुनु पर्दैन थियो । उच्च शिक्षामा सर्वसाधारणको पहुँच स्थापित हुन्थ्यो । कृषि कर्म गर्नेहरू गरिव हुनु पर्दैन थियो । उद्योगधन्दा र कलकारखानाको विकास हुन्थ्यो । नेताहरू सहकारी ठग हुँदैन थिए । मिटरब्याज, लघुवित्त र बैकंहरूले घर लिलाम गरेर मान्छेहरू घरबारविहीन हुने र आत्महत्या गर्नुपर्ने परिस्थिती आउँदैन थियो । हाम्रा चेलीबेटीहरू खाडी मुलुक, बैगलोर र बम्वई जानु पर्दैन थियो । युवाहरूले अरबको तातो घाममा भेडा चराउन पर्दैन थियो । सबैभन्दा ठुलो कुरा त जेन्जीहरू आगो लिएर सिहंदरवार पस्नु पर्दैन थियो ।
कमरेडहरू गुटबन्दी नगर्नोस् । तपाईंहरूले पार्टीभित्र गुटबन्दी गरिरहँदा मेहेनतकश जनताहरूले पार्टीभन्दा बाहिर छुट्टै गुट बनाइसकेका छन् । जनता र तपाईंहरूको विचमा अन्तरविरोध बढिसकेको छ । फर्किनुहोस् कमरेडहरू १ बाम बाटोमा, जनताको घरदैलोमा, कारखानाहरूमा, खेतवारीहरूमा र समाजवाद स्थापना गर्ने ध्येयमा ।
हस् त लालसलाम ।