
रुकुम पश्चिम : रुकुम पश्चिममा दुई बालिकाको शव फेला परेको घटनामा आफन्तले शंका व्यक्त गर्दै पोस्टमार्टम गर्न नदिएपछि अनुसन्धान अन्योलमा परेको छ । घटना शंकास्पद भएको दाबी गर्दै उनीहरूले हालसम्म शव परीक्षण गर्न अनुमति दिएका छैनन् ।
बाफिकोट गाउँपालिका–३ गर्लाबोट निवासी टिकाराम ओलीकी छोरी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओलीको शव सानोभेरी नदी किनार, भाग्ले पावरहाउस नजिक फेला परेको हो । उनीहरूसँगै बेपत्ता भएकी सोही गाउँका पूर्णबहादुर ओलीकी छोरी सपना ओली भने अझै फेला परेकी छैनन् ।
प्रहरीका अनुसार मृतक दुई दिदीबहिनीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको छ । तर घटना शंकास्पद भएको भन्दै आफन्तले हालसम्म शव परीक्षण गर्न अनुमति दिएका छैनन् ।
जिल्ला समन्वय समिति रुकुम पश्चिमकी पूर्व उपप्रमुख तथा महिला अधिकारकर्मी इन्द्रिरा बुढा नाथका अनुसार बेपत्ता बालिकाको खोजी कार्य जारी छ । उनका अनुसार दुई दिदीबहिनीको शव सँगै भेटिनु र तेस्रो बालिका अझै नभेटिनुले घटनाबारे थप अनुसन्धान आवश्यक रहेको देखिएको छ ।
तीनै बालिका मुसिकोट नगरपालिका–१ छिनखेतस्थित त्रिपुरा माध्यमिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ । स्थानीय जङ्गबहादुर ओलीले घटनालाई लिएर कसैले अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रहरीका अनुसार मृतक बालिकाहरूको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । नदीमा डुबेर मृत्यु हुँदा पानी पेटमा प्रवेश गरी पेट फुल्ने अवस्था हुने भएकाले त्यसतर्फ पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाहरू मुसिकोट नगरपालिका–१ भलखोलामा भएको आकाश मल्लको विवाहमा सहभागी भएर फर्कने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएको करिब १२ घण्टापछि स्थानीयले देखेपछि अस्थायी प्रहरी पोस्ट छिनखेतलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी उपरीक्षक बेद पौडेलका अनुसार बाटोको केही भाग जंगल भएकाले डरका कारण खोलो तर्ने क्रममा बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी उपरीक्षक पौडेलको कमान्डमा प्रहरी र स्थानीयको सहभागितामा बेपत्ता बालिका सपना ओलीको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार दुई बालिकाको शव करिब ५ सय मिटरको दूरीमा फेला परेको हो ।