– खेमलाल पहारी
रमण बुढा आफुले पढ्न नसके पनि छोरालाई डाक्टर पढाएर आफ्नो नामको अघि पछि कोष्ठमा डाक्टरका बा लेख्न लेखाउन वर्षौंदेखि लालायित थिए । बाह्रौं तहमा छोराले अपेक्षित सफलता हासिल गर्न नसकेपछि बुढाले पहाड बेची लाखौं खर्चेर रेवतीरमणलाई निजी चिकित्साशास्त्र अध्ययन संस्थानमा डाक्टर पढ्न पठाए । सुरुआती दिनमा निकै जोश जाँगरका साथ सेतो कोटमा सजिएर पढ्न गएको सत्र वर्षे ठिटो विस्तारै अन्तर्मुखी भएको थियो र पहिलो सेमेष्टर परीक्षा अगाडि अचानक गायब भएको थियो । रमणले छोराको खोजीमा कुनै कसर बाँकी राखेनन् तर, रेवतीरमणको न सास पाइयो नत लास । छोराको पिरमा थला परेकी रेवतीले तिमी छोरालाई घर जिम्मा लगाएर मात्र आउनु है भन्दै रमणलाई सम्झाएर उमेरमै स्वर्गको बाटो तताएकी थिइन् ।
रेवतीको स्वर्ग गमनले एक्लिएका रमण छोराको पर्खाईमा आफ्नो सपनालाई धिक्कार्दै जसोतसो दिन काटिरहेका थिए । कहिलेकाहीँ अर्धचेतमा बर्बराउँदै उनी भन्थे, “आइज त बाबु, मेरो ज्वरो नाप्दे !” कुनै दिन रमण बुढा बाटोमा छाता हल्लाउँदै, छोराको अस्पतालमा रक्तचाप जचाउन जाने हो भन्दै बर्बराउँदै हिड्थे त अर्को दिन चिनीको मात्रा जचाउन ।
आज बाबुको मुख हेर्ने दिन, रेवतीरमणका सहपाठीहरू रमण बाको वरिपरी छन् । बुढा सबैलाई पालैपालो हेर्दै भक्कानिएर रोए । आज उनलाई पक्का भएको थियो कि उनको छोरा अब यो दुनियामा छैन ।
एकजना डाक्टरले नम्रतापूर्वक भने, “बा, हजुरको छोरा डाक्टर भएर आएको छ तर, ऊ सेतो कोट लगाउन मान्दैन । पढ्दा पढ्दै रेवतीरमण कालो भएको छ र पहिरन पनि कालै गर्न रुचाउँछ । हजुरको छोरा खिएर हजुरको हत्केलामा अटाउने भएको छ ।” बुढा मुसुक्क हाँसे; डाक्टर छोरालाई छामछुम पारे र भने मेरो आँतको ज्वरो, अक्सिजन, प्रेशर, मुटुको चाल जँचाइदे न बा !
बुढाले दिनभरिमा दर्जनौं पटक आफ्नो शरीरको जाँच गराए । उनको डाक्टर छोराले उनलाई समय समयमा उठाइ बसाइको स्थिति र पानी पिउने समयको पनि स्मरण गराइरह्यो । डाक्टर केटाहरू अघि नै गइसकेका थिए, यता रेवतीरमण डाक्टरका बाको बायाँ नाडीमा स्मार्ट घडी बनेर बेह्रिरहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies