
उदयपुर : उदयपुरमा अपहरण तथा शरिर बन्धक कसुरमा एक जना कारागार चलान भएका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका–११ बगरटोलका २३ वर्षीय उज्वल राईलाई पुर्पक्षको लागि मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राईले गत भदौ १० गते त्रियुगा नगरपालिका– ११ पिजीचोकस्थित उदयपुर स्केटिङ पार्कबाट वडा नम्बर–१२ शनिमन्दिरका २० वर्षीय सञ्जीव राई र वडा नम्बर–११ शिवालय टोलका १८ वर्षीय प्रवीण श्रेष्ठलाई सोही वडाको बरुवा खोलाको किनारमा लिएर धाकधम्की दिँदै अपहरण तथा शरीर बन्धक बनाई कुटपिट तथा यातना समेत दिई फरार भएका थिए ।
फरार रहेका उनलाई यही मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला अदालतमा पेश गरेको छ । उनलाई १६ गतेको आदेश अनुसार पुर्पक्षका लागी कारागार कार्यालय उदयपुर चलान गरेको प्रहरीको जनाएको छ ।