२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सातौं दिनमा सकियो प्रवासी नेपाली मञ्च कतारको अधिवेशन, नेतृत्वमा कार्की सर्वसम्मत

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन ११ गते १७:३६
सातौं दिनमा सकियो प्रवासी नेपाली मञ्च कतारको अधिवेशन, नेतृत्वमा कार्की सर्वसम्मत

दोहा, कतार : प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनको खुला सत्र सम्पन्न भएको सातौं दिनमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सकिएको छ । मञ्चका निर्वाचन समिति संयोजक तथा घोषणा सभाका सभापति समेत रहेका गोविन्द सुवेदीले आगामी एक कार्यकालका लागि चुडामणि कार्कीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको घोषणा गरे ।

त्यस्तै मञ्चको कार्यसमितिको उपाध्यक्षहरूमा विनेश तामाङ (खोटाङ), अफसर अलि खान (मोरङ), टिका कार्की (मोरङ), भीम तरामु मगर (गुल्मी), सचिव शेषराज तिमिल्सिना (पर्वत), उपसचिवहरू क्रमशः खेमराज सुवेदी (सुनसरी), मेनुका खतिवडा भण्डारी (धादिङ), शोभाखर भुसाल (अर्घाखाँची), जमिर नदाफ (धनुषा) चयन भए ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा श्रीधर आचार्य (अर्घाखाँची), शिव कुमार भुजेल (झापा), नवराज शाही (बाँके), गोपाल बस्नेत (भोजपुर), गोपाल खतिवडा (सुनसरी), हेमराज रिमाल (दीपक) (तेह्रथुम), निरन नेपाल (सुनसरी), किरण परियार (झापा), टंक बहादुर बिक (सल्यान), कमलेश महतो (धनुषा), मो. असलम साफी (धनुषा), रबिन खत्री (पाँचथर), सुदर्शन भण्डारी (नुवाकोट), रेशम तामाङ (तनहुँ),  श्याम पाण्डे (पर्वत), टेक बहादुर नेपाली (स्याङ्जा), भेष बहादुर गुरुङ (कास्की), भीम बहादुर विश्वकर्मा (सुनसरी), उषा रिमाल नेपाल (धादिङ) र कृष्ण कुमार बस्नेत (अर्घाखाँची) चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

मञ्चका संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं, सागर नेपाललगायतले घोषणा सभालाई सम्बोधन गरेका थिए । घोषणा सभामा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यता रहेको थियो । सोक्रममा अरगरियाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । उनले मिसन ८४ सफल बनाउन यो कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । निर्वाचन समिति सदस्य केबी हमालले स्वागत मन्तव्य राखेका थिए भने तेज कटुवालले सहजीकरण गरेका थिए । 

नवनिर्वाचित अध्यक्ष कार्कीका प्रतिबद्धता

नवनिर्वाचित अध्यक्ष कार्कीले मञ्च कतारको छैटौं अधिवेशनमार्फत निर्वाचित राष्ट्रिय कमिटीले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै सकारात्मक कार्यलाई निरन्तरता दिने र मञ्चको अधिवेशनलगत्तै बस्ने पहिलो बैठकले आवश्यकताअनुसार महत्वपूर्ण विभागहरूलगायत सल्लाहकार कमिटी गठन गरी सोहीअनुसार कार्य गर्नलाई विभागलाई परिचालन गर्ने प्रतिबद्धता जनाए । कार्कीले सल्लाहकार परिषद्‍बाट आएका सुझावहरूलाई बैठकमा प्रस्तुत गरी सल्लाहकार परिषद्लाई प्रतिक्रिया दिँदै संगठन विस्तारलाई तीव्ररूपले अगाडि बढाउने प्रतिबद्धतासहित कार्यकालअगावै हाल रहेको संगठित सदस्य संख्यालाई दोब्बर बनाउने बताए ।

उनले आफ्नो कार्यकालमा श्रमिक कल्याणकारी कोष निर्माण गर्नका लागि आफैंले पाँच हजार कतारी रियाल जम्मा गर्दै शुरुवात गरी दोहा कतारमा अवस्थित सम्पूर्ण व्यवसायी, समाजसेवीदेखि संघसस्थाहरुसँग समन्वय तथा सहकार्य गरी समयमै अपेक्षित कोषको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले आर्थिक पारदर्शिताका लागि चुस्त दुरुस्त तवरले मितव्ययिता अपनाइने र आर्थिक विभागमार्फत सहयोगीहरूको सम्पूर्ण विवरण अभिलेख गरी उचित समयमा संगठनको तर्फबाट सम्मानसमेत गर्ने बताए । हिजोको नगर कमिटीलाई हालको संशोधित विधानअनुरूप नेपालको भौगोलिक अवस्थाअनुसार गठन गरी यसलाई अझै प्रभावकारी र दक्ष संगठन निर्माण गर्ने बताउँदै उनले संगठन सञ्चालन गर्दा बैठकले गरेका हरेक निर्णयहरू सल्लाहकार परिषद् सहित जिम्मेवार निकायहरूको पनि अपनत्व महसुस हुने गरी संगठनको आधिकारिक ग्रुप तथा इमेलमार्फत जानकारी गराउने बताए ।

उनले मञ्च कतारले मध्यपूर्व तथा अन्तर्राष्ट्रिय मञ्चसँग समन्वय गरी व्यक्तित्व विकासका लागि केन्द्रीय तहका पदाधिकारीहरुमार्फत हरेक ६-६ महिनामा प्रशिक्षण कार्यक्रमका लागि उचित व्यवस्थापन गरिदिनका लागि अनुरोधसहित कतारमा अवस्थित सम्पूर्ण संघसंस्था, गैरआवसीय नेपाली संघलगायत नेपाली राजदूतावाससँग समन्वय गरी श्रमिक लक्षित चेतनामूलक (पासपोर्ट नवीकरण, स्वास्थ्य एवम् सुरक्षालगायत कतार सरकारको श्रम कानून) कार्यक्रमहरूको व्यवस्था गरी महत्वपूर्ण सूचनाहरू सम्प्रेषण गर्ने बताए । मञ्चमा (पार्टी) प्रवेश गर्ने सम्पूर्ण सदस्यहरुको संगठित सदस्यता माथिल्लो कमिटीसँग समन्वय गरी १ महिनाभित्र सदस्यता सुनिश्चितता गर्ने र संगठित सदस्यहरु आफ्नो श्रम अवधि पूरा गरी नेपाल फर्कनुपर्ने भएमा माथिल्लो कमिटीमार्फत पार्टी केन्द्रदेखि सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय निकायसम्म समन्वय गरी विधानत: उचित व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए ।

उनले गैरआवासीय नेपाली संघमा हिजोका दिनमा जस्तै आगामी दिनमा पनि समन्वय गरी कमिटीको धारणासहित सहकार्य र साझेदारी गर्ने, कार्यकालको अन्त्य गर्दै गर्दा प्रवासी मञ्च कतारको स्थापना भएदेखिको हालसम्मको गतिविधिसहित स्मारिका तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबैबाट सदैव साथ, समर्थन र सहयोगको अपेक्षासमेत व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise