
ललितपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४३औं वार्षिकोत्सव तथा विशेष पुरस्कार वितरण समारोहमा बोल्दै उनले विज्ञान प्रविधि क्षेत्रमा पर्याप्त लगानी नहुनु र यस क्षेत्र अर्थतन्त्रसँग नजोडिनु देशको कमजोर पक्ष बनेको बताए । विज्ञान र प्रविधिमा पछि परेपछि अर्थतन्त्र कमजोर हुँदै गएको र त्यसको असर नेपाली समाजमा व्यापक रूपमा परेको उनको भनाइ थियो ।
उनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकास सुस्त हुनु विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । ‘आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन्,’ मन्त्री पुनले भने, ‘पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको मूल कारण विज्ञान र प्रविधिप्रति गरिएको बेवास्ता हो ।’ उनले विज्ञान प्रविधि सम्बन्धी शैक्षिक तथा अनुसन्धान संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने आवश्यकता औंल्याए ।
सीमित स्रोतसाधनका बाबजुद नास्टले प्रभावकारी परिणाम दिन सक्षम हुने विश्वास व्यक्त गर्दै मन्त्री पुनले भने, ‘विज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्दै अनुसन्धानलाई रूपान्तरण गर्ने समय आएको छ ।’ उनका अनुसार अनुसन्धान तथा आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने छ ।
आफूलाई जिम्मेवारी प्राप्त भएमा अनुसन्धान तथा नवप्रवर्तनका लागि कम्तीमा तीन अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने योजना रहेको उनले बताए । नेपालमा व्यक्तिगत रूपमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने संस्कृति कमजोर रहेको उल्लेख गर्दै उनले नास्टले गरिरहेको प्रयासलाई प्रशंसनीय बताए ।
समारोहमा नास्टले विभिन्न अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच वरिष्ठ वैज्ञानिकलाई कदरपत्र हस्तान्तरण गरिएको छ ।