
काठमाडौं : विश्वकै प्रमुख म्याराथनमध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन–२०२५ मा आइतबार नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेन्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यससँगै उनले यसै वर्ष पछिल्लो ८ महिनाभित्र पाँच वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
उनले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन (४२.२ किमि) पूरा गर्दै गत वैशाखमा लण्डन म्याराथन (२ः४२ः५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन् । लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२ः४६ः२६) मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन् ।
यससँगै उनी विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरू सहभागिता रहेको यस म्याराथनमा ८०औं स्थान हासिल गरेकी छन् ।
त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । साथै यही कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई काँस्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
नेपाल युके रनको पहल र प्रवर्धनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोट्र्स कम्युनिकेसन नेदरल्यान्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन् ।
साथै नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन् ।
सन् २०१९ मा १३औं सागमा नेपालका लागि ऐतिहासिक रूपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रूपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।
मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३औं सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छन् ।