
काठमाडौं : सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।
खराब ब्याटिङ गरेपछि विराटनगर किंग्सले एनपिएलको दोस्रो सिजनमा फाइनल पुग्ने पहिलो टोली बन्ने अवसर गुमायो । यो जितसँगै सुदूरपश्चिमले लिगको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदला पनि लिएको छ ।
पछिल्लो खेलमा यी दुई टोली नै प्रतिस्पर्धी थिए । उक्त खेल ६ विकेटले जितेपछि विराटनगर नेट रनरेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै लिगको दोस्रो स्थानमा पुगेको थियो । यसै सिजनको दोस्रो भेटमा भने सुदूरपश्चिमले बाजी मार्यो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक ५६ रनको लक्ष्य दिएको थियो । तर विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट हुन पुग्यो । ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाए । विराटनगरका लागि यो नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो ।
इनिङको पहिलो बलदेखि नै विकेट गुमाएको विराटनगर सम्हालिन नै सकेन । पहिलो दुई ओभरमा नै विराटनगरका तीन ब्याटर आउट भए । इनिङको पहिलो बलमै ओपर साम हेजलेट शून्यमै आउट भए । ओभरको अन्तिम बलमा मार्टिन गप्टिल २ रनमा रनआउट हुन पुगे । दोस्रो ओभरको पहिलो बलमै विराटनगरले तेस्रो विकेट गुमायो । नरेन भट्ट खाता नखोल्दै पेभेलियन फर्किए । यससँगै १.१ ओभरमा विराटनगर ३/३ को नाजुक अवस्थामा पुग्यो । तर ओपनर फाफ डु प्लेसिस र बसिर अहमदले इनिङ सम्हाल्ने प्रयास गरे । सातौं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बसिरलाई १२ रनमा कट एन्ड बोल्ड गराए । फेरि विराटनगरले लगातार विकेट गुमाउन पुग्यो । लोकेश बम ५ र नारायण जोशी १ रनमा आउट भए ।
९.१ ओभरमा विराटनगर ५३/६ को नाजुक अवस्थामा पुग्यो । ११औं ओभरमा फाफ पनि पेभेलियन फर्किए र विराटनगरको जित आशा कमजोर बन्यो । फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । हेमन्त धामीले सेल्डन ज्याक्सनद्वारा फाफलाई क्याच गराए । त्यसपछि आएका मार्चन्ड डे लांगे १५ रन जोडेर आउट भए । अन्य ब्याटर सस्तै पेभेलियन फर्किएपछि सुदूरपश्चिमले फराकिलो जित निकाल्यो । प्रतीश जिसी र कप्तान सन्दीप लामिछाने समान ३ रनमा आउट भए । सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिन, हरमित सिंह र अविनाश बोहोराले समान दुई तथा हेमन्त र दीपेन्द्रले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल बनाएको थियो । ओपनर विनोद भण्डारीले ६३ रनको अर्धशतकीय इनिङ खेले । सुस्त ब्याटिङ गरेको सुदूरपश्चिमले तेस्रो ओभरमै पहिलो विकेट गुमायो । ओपनर मुख्तर अहमद १० रनमा आउट भए । अर्को छेउबाट विनोदले इनिङ अगाडि बढाए । उनले दोस्रो विकेटका लागि सेल्डन ज्याक्सनसँग ४० रनको साझेदारी गरे । आठौं ओभरमा स्पिनर सूर्य तामाङले सेल्डनलाई २० रनमा विकेटकिपर लोकेश बमद्वारा क्याच गराए । मुख्तर र सेल्डनले एनपिएलमा पहिलो खेल खेलेका हुन् । विनोदले तेस्रो विकेटका लागि पनि ईशान पाण्डेसँग ३१ रनको साझेदारी गरे ।
नरेन भट्टले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच गरेपछि ईशान १३ रनमा पेभेलियन फर्किए । १२.५ ओभरमा सुदूरपश्चिम ९२/३ को अवस्थामा थियो । त्यसपछि कप्तान दीपेन्द्र पनि ३ रनमा नै रनआउट भए । १४औं ओभरको समाप्तीमा सुदूरपश्चिमले एक सय रनको आँकडा पूरा गर्यो । हरमित सिंह १४ रन र आरिफ शेख २० रन बनाएर आउट भए । आरिफले १३ बलमा दुई चौका र एक छक्का हिर्काए । प्रतीश जिसीले १७औं ओभरमा हरमित र १९औं ओभरमा विनोद भण्डारीको विकेट लिए । विराटनगरको बलिङमा प्रतीश र मर्चान्ड डे लांगेले समान दुई तथा सूर्य र साम हेजलेटले समान एक विकेट लिए ।
विराटनगरले अब बिहिबार हुने दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार काठमाडौं र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । इलिमिनेटरमा जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । बिहीबार दोस्रो क्वालिफायरको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ ।