२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पश्चिम नवलपरासी-२ कांग्रेसबाट कँडेलको नाम सिफारिस

shivam cement
विनोद निगम
२०८२ मंसिर २५ गते २१:०५
Shares
पश्चिम नवलपरासी-२ कांग्रेसबाट कँडेलको नाम सिफारिस

नवलपरासी : आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  नेपाली कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ । यसअन्तर्गत नवलपरासी पश्चिम क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेलको नाम एकल रूपमा सिफारिस गरिएको छ ।

बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले पूर्वराज्यमन्त्री समेत रहेका कँडेलको नाम सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको क्षेत्रीय समितिका सभापति माधवप्रसाद पाण्डेले जानकारी दिए । 

पाण्डेले भने, ‘कँडेलको लामो राजनीतिक अनुभव, पार्टीभित्रको सक्रिय भूमिका र स्थानीय तहमा रहेको सांगठनिक प्रभावका कारण उनलाई सशक्त दावेदारका रूपमा प्रस्तुत गरिएको हो ।’

समानुपातिकतर्फ विक्रमप्रसाद यादव र सुनीताकुमारी सुवेदी श्रेष्ठको नाम सिफारिस भएको छ । यस्तै, राष्ट्रियसभा सदस्यका लागि अर्जुनकुमार पोखरेल र चन्दा चौधरी सिफारिसमा परेका छन् । 

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार मंसिर २६ भित्र देशभरका क्षेत्रीय समितिहरूले उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । त्यसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा उम्मेदवार सिफारिस प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि २६ निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये रुकुमपूर्व, रोल्पा, प्युठान र अर्घाखाँचीमा एक–एक, गुल्मी, पाल्पा, बर्दिया र पश्चिम नवलपरासीमा दुई–दुई, दाङ, कपिलवस्तु र बाँकेमा तीन–तीन, तथा रूपन्देहीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । 

कांग्रेसभित्र आगामी निर्वाचनको तयारी थप सक्रिय बनेको देखिन्छ । पार्टीले उम्मेदवार चयनसँगै स्थानीय तहमा आफ्ना कार्यकर्तालाई अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । यसरी पार्टीले संगठनलाई चुस्त राख्दै मतदातासँगको प्रत्यक्ष सम्पर्कमा केन्द्रित हुने रणनीति अगाडि सारेको छ ।

यसअघि कांग्रेसले निर्वाचन तयारीका क्रममा जिल्लामा विभिन्न तहका बैठक, संगठन सुदृढीकरण कार्यक्रम तथा मतदाता भेटघाट अभियान सञ्चालन गरिसकेको छ । आगामी निर्वाचनमा पार्टीले क्षेत्रीय र राष्ट्रिय स्तरमा सशक्त प्रदर्शन गर्ने लक्ष्य राखेको बताइएको छ ।

सम्बन्धित खबर