२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गैरआवासीय नेपाली संघ कतारको दोस्रो परिषद् भेला सम्पन्न

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन १२ गते १६:०६
गैरआवासीय नेपाली संघ कतारको दोस्रो परिषद् भेला सम्पन्न

दोहा, कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको दोस्रो परिषद् (वार्षिक) भेला सम्पन्न भएको छ । संघको विधान २००३ को (दशौं संशोधन २०२१ ) को परिच्छेद ६ को दफा १३ को उपदफा १३.२ मा व्यवस्था भए बमोजिम २०२३ -२०२५ कार्यकालको दोस्रो परिषद् भेला प्रत्यक्ष र भर्चुअल जुम अनलाइनमार्फत सम्पन्न भएको हो ।

नेपाली राजदूतावासको सभा हलबाट प्रत्यक्षरूपमा सञ्चालित भेला संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली कार्यबाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा पछिल्लो एक वर्षका विभिन्न गतिविधिहरू विभिन्न समितिका संयोजकहरूले पेस गरेका थिए । भेलामा बोल्दै प्रमुख अतिथि राईले भेला सफलताको शुभकामना व्यक्त गरे ।

श्रमिकहरूलाई स्वास्थ्य सुरक्षा तथा कतारको नयाँ कानूनबारे प्रशिक्षण, कतारमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकहरूका लागि विभिन्न स्थानीय कम्पनीहरूमा रोजगारीका लागि समन्वय गर्दै सहयोग, पीडितहरूलाई एनसीसी तथा विभिन्न सरकारी निकायसँग समन्वय गर्दै खाद्यान्न सहयोग, नेपालमा जाजरकोट र रुकुममा गएको भूकम्पमा आर्थिक सहयोग गरेको एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागका संयोजक कृष्ण पन्थीले प्रतिवेदन पेस गरे ।

पन्थीले करिब दुई दर्जन श्रमिकलाई उनीहरूकै कम्पनीसँग सहकार्य गरी टिकटको व्यवस्थापन गरेको र विभिन्न जिल्लाबाट कतार आएर अप्ठ्यारो अवस्थामा परेका आठ जनालाई एनसीसी कतारकै खर्चमा टिकट उपलब्ध गराइ नेपाल फिर्ता पठाइएको जानकारी दिए । उनले कतारका मृतकलाई नगद सहयोगसहित ७ वटा शव नेपाल पठाएको प्रतिवेदन पेस गरे । पन्थीले संस्थागत सहयोगका साथै व्यक्तिगतरूपमा आफैंले काम गर्ने कम्पनीमार्फत धेरै पीडितलाई निःशुल्क गाँस बासको व्यवस्था गरेको भेलामा जानकारी दिए ।

त्यस्तै कोषाध्यक्ष बुद्ध पाण्डेले कूल आम्दानी ३ लाख ६० हजार ९ सय ९२ रियाल भएको र २ लाख २५ हजार ८ सय २२ रियाल कूल खर्च भएको पूर्ण आयव्यय पेस गरे । उनले कूल रकममध्ये १ लाख ३६ हजार १ सय १२ रियाल (४९ लाख रुपैयाँ) नेपालमा बैंकमा मुद्दती खातामा रहेको भेलालाई जानकारी  दिँदै ४ लाख ९ हजार ५ सय नेपाली रुपैयाँ ब्याजमार्फत  प्राप्त भयसकेको विवरण पेस गरे । उनले हाल संघमा १ लाख ३५ हजार १ सय ३० रियाल रकम बचत रहेको विवरण पेस गरे । पाण्डेले मुद्दती खातामा एक वर्षका लागि रकम रहेको हुँदा संस्था सञ्चालनका लागि संघका अध्यक्ष भट्टसँग कतारी रियाल २० हजार सापटी लिइएको र ५ हजार ४ सय ९३ रियाल विभिन्न कार्यक्रममार्फत उठ्न बाँकी रहेको भेलालाई जानकारी दिए ।

भेलामा आईसीसी तथा एनसीसीका विभिन्न पदाधिकारीहरू, कतारमा स्थापित विभिन्न वैचारिक संगठन प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने उनीहरुले आ-आफ्ना धारणा राखेका थिए । एनसीसीका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको भेलालाई महासचिव रबिन मगरले सहजीकरण गरेका थिए भने मगर र सचिव सन्तोष क्षेत्रीले कार्यप्रगति विवरण मिलेर पेस गरेका थिए । भेलामा पेस भएका कार्यप्रगति र आयव्यय विवरण पारितसमेत भएका छन् ।

छानबिन समितिको रिपोर्ट सार्वजनिक

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको दशौं राष्ट्रिय महाधिवेशनबाट २१/२३ कार्यकालको आयव्यय छानबिन गर्न गठित छानबिन समितिले आफ्नो रिपोर्ट भेलामार्फत सार्वजनिक गरेको छ । छानबिन समितिका संयोजक होमनाथ शर्माले पटक-पटक बिल भर्पाइ माग्दा तत्कालीन समयका कोषाध्यक्षसहित अध्यक्षले बिल भर्पाइ नदिएको उल्लेख गरिएको रिपोर्ट सार्वजनिक गरेसँगै सोही विषयउपर निकै लामो समय बहसबाजी भयो । 

एनसीसीदेखि आईसीसीका संस्थापकसम्मका पदाधिकारीहरूले छानबिन रिपोर्टमाथि आ-आफ्ना विचार राखे । उनीहरूले परिषद् भेलाले पास गर्‍यो भन्दैमा बिल फाल्न नहुने, नयाँ कार्यसमितिलाई बिलसहितको आयव्यय दिनुपर्ने बताउँदै बिल नहुनुका कारण लिखितरूपमा आउनुपर्ने सुझाव दिए । वक्ताहरुले कुनै पनि कार्यकालमा गलत हुँदा अध्यक्ष मात्र दोषी नहुने बताउँदै सिंगो कार्यसमिति दोषी हुने धारणा राखे । वक्ताहरूले हरेक कार्यकालको अन्त्यमा बिल भर्पाइसहितको कागजात नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न सुझाव दिए ।

ध्यान दिएर सबैका धारणा सुनेका निवर्तमान अध्यक्ष मोहमद मुक्तदा मुसलमानले समाजले दिएको दण्ड स्वीकार्य र आफ्ना कार्यकालमा भएका कमीकमजोरीको नैतिक जिम्मेवारी लिएसँगै विवाद किनारा लागेको छ । भेलाको समापन गर्ने क्रममा भेलाका सभापति तथा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले छानबिन समितिले रिपोर्ट परिषद् भेलामा पेस गर्न आग्रह गरेबमोजिम नै भेलामा आएको बताए । आफूले रिपोर्ट सार्वजनिक गरौँ भन्दा भेलासम्म लैजान आग्रह गरेका कारण विचार विमर्श लम्बिएको बताउँदै परिषद् उनले भेलाबाट छानबिन समिति विघटन गर्दै आर्थिक अनियमितताको विषय पनि टुंगिएको जानकारी गराए ।

संघका निवर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले सन २०१९ देखि नै एनसीसीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग गरेपछि एनसीसीको दशौं राष्ट्रिय महाधिवेशनबाट शर्माको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise