
डोल्पा : जिल्ला प्रहरी कार्यालय डोल्पाले मंसिर महिनामा सम्पादन गरेका विभिन्न कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार मंसिर महिनामा जिल्लामा कुल ५ वटा मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये १ वटा गम्भीर, १ वटा सामान्य, १ वटा म.बा.बा. सम्बन्धी, १ वटा भवितव्य र १ वटा आत्महत्या सम्बन्धी रहेका छन् । उक्त मुद्दामा ७ जना प्रतिवादी रहेका छन् । फैसला कार्यान्वयनतर्फ १ जनालाई पक्राउ गरी २ हजार ५ सय जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, हराएका व्यक्तिको विवरणतर्फ ४ जनाको खोजी निवेदन परेकोमा १ जना फेला परेका छन् ।
गत मंसिर १ गते साँझ त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बजार क्षेत्रमा गरिएको चेकजाँचका क्रममा १ ग्राम ८८ मिलिग्राम ब्राउनसुगर, ३ ग्राम ८३ मिलिग्राम चरेश र १२ ग्राम ७५ मिलिग्राम गाँजा बरामद गरिएको थियो । उक्त घटनामा हरि बहादुर वि.क.सहित ७ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मंसिर महिनामा जिल्लामा ३७ वर्षीय एक पुरुषले आत्महत्या गरेको एक घटना दर्ता भएको छ । विपद् व्यवस्थापनतर्फ १ वटा आगलागीको घटना भएको, जसबाट अनुमानित २५ हजार बराबरको क्षति भएको र उक्त घटनामा ५ जना प्रहरी परिचालन गरिएको जानकारी दिइएको छ ।
सो अवधिमा सवारी दुर्घटनाको कुनै पनि घटना नभएको प्रहरीले जनाएको छ । महिनाभर नियमित सुरक्षा व्यवस्थाअन्तर्गत एलआरपी ५, एसआरपी ४ सय ३८, पिकेट ४ सय ३२, चेकिङ ४ सय २६ तथा ग्रामीण गस्ती ५ सय ६७ पटक सञ्चालन गरिएको थियो ।
सवारी चेकिङका क्रममा ३७ वटा कारबाही गरी ६३ हजार राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मंसिर महिनामा समुदाय तथा विद्यालय केन्द्रित ३७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ९ सय ३९ जनाको सहभागिता रहेको थियो । नागरिक सहायता कक्षमार्फत ८ सय १२ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको र हटलाइन तथा ड्युटी अफिसरको सम्पर्क नम्बरमा ७६ वटा फोन कल प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्ने उद्देश्यले प्रकृति भ्रमण, खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम, वनभोज तथा ‘बेष्ट पुलिस अफ द मन्थ’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
नवप्रवर्तनात्मक कार्यअन्तर्गत स्मारिका पुनर्निर्माण, कार्यालय प्रमुखको निवास तथा शौचालय निर्माण र रंगरोगनको काम गरिएको जनाइएको छ ।
त्यसैगरी, सिमान्तकृत, अल्पसंख्यक तथा पिछडिएका वर्गलाई लक्षित गरी ५ वटा कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ६७ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जानकारी दिएको छ ।