२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गोरखा सेवा समाज कतारले मनायो २३औं स्थापना दिवस

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष ३ गते २२:०५
Shares
गोरखा सेवा समाज कतारले मनायो २३औं स्थापना दिवस

दोहा कतार : गोरखा सेवा समाज कतारले आफ्नो २३औं स्थापना दिवस विविध गतिविधिसहित भव्य रूपमा मनाएको छ । कतारको राष्ट्रिय दिवसको अवसर पारेर समाजले अंग्रेजी  नयाँ वर्षको शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सहित बिहीबार फूलबारी रेस्टुरेन्टको सभा हलमा स्थापना दिवस मनाएको हो । 

समाजका अध्यक्ष विकास श्रेष्ठको सभाध्यक्षता तथा ग्लोबल गोरखा समाज उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोरखालीहरूको गाथा समेटिएको भिडियो समेत प्रदर्शन गरिएको थियो । गोरखाली को हुन् ?, र के हुन् भन्ने अभिलेख समेटिएको गाथामा गोरखा जिल्लाको पर्यटकीय, धार्मिक स्थल सहित गोरखामा पाइने जटिबुटीका बारेमा स्पष्टसँग उल्लेख गरिएको थियो । 

कार्यक्रममा समाजका संस्थापक सदस्य बुधबल गुरुङले समाजको स्थापनादेखि वर्तमानसम्मको उतारचढावको लामै अनुभव साझा गरेका थिए । 

उनले डिसेम्बर १२ तारीक २००३ का दिनमा केही साथीहरू मिलेर दोहाको अलफ्रदान नजिककै पार्कमा जम्मा भइ ‘गोरखा प्रवासी संघ’नामकरण गर्दै समाजको स्थापना गरिएको बताए ।

कलाकारको हितका लागि ‘मनकामना कला केन्द्र’समेत समाजले त्यतिबेला गठन गरेको स्मरण गर्दै हाल समाजले २५ लाख बराबरको जिल्लामा अक्षयकोष स्थापना गरेको बताए । 

स्थापना दिवसको अवसर पारेर समाजका संस्थापक सदस्यहरू क्रमशः बुधबल गुरुङ, अर्जुन संग्रौला र यम बहादुर आलेलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपालबाट आमन्त्रित सारेगमा लिल च्याम्प सिजन–१ का फाइनलिस्ट गायक अरुण सुनारले वारी जमुना पारी जमुना गाए । 

कतारमा रहेका गायकद्वय संगीत बिसी र पुकार थापा गायिकाहरू रेश्मी सेन्चुरी, तारा बिसी र गुना मगरले आफ्ना गायन मार्फत दर्शकलाई छमछमी तताए । 

त्यस्तै सम्झना गुरुङ, र सानुमाया गुरुङले युगल नृत्य पेस गरे भने सरिता बान्तवा राई, सृष्टि लामा, प्रिया लामा, सानुमाया र सलिना सीं ठकुरीले एकल आकर्षक नृत्य पेस गरे । 

कार्यक्रममा सुन्तला र स्याउ कसले छिटो खान सक्छ भनेर मनोरञ्जनात्मक खेल खेलाइएको थियो । जसमा महिलातर्फ सम्झना गुरुङ र पुरुषतर्फ बाबुराम महतले उक्त खेलको उपाधि जितेका थिए ।

मध्यान्ह राष्ट्रिय दैनिक सञ्चार सहयोगीका रूपमा रहेको कार्यक्रममा कतारमा स्थापित दर्जनौं संघसंस्थाका प्रमुख, प्रतिनिधि,  सामाजिक, व्यवसायी तथा बौद्धिक  व्यक्तित्वहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो । 

कार्यक्रम संयोजक अर्जुन संग्रौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले गोरखा समाजसँग कतारमा रहेका संघसंस्थाहरुले गरेको संस्थागत सहकार्य अनुकरणीय रहेको बताए । उनले आफ्नो स्थानबाट संस्थाको बृहत्तर हितको लागि लागिपर्ने बताए । समाजका महासचिव रुद्र भट्ट र सचिव गुरुङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रेष्ठले समाजले सञ्चालन गर्ने विविध गतिविधिलाई सदैव साथ र हौसला प्रदान गर्नेहरूप्रति कृतज्ञता प्रकट गरे । 

कार्यक्रममा सांगीतिक प्रस्तुति दिने सबै कलाकारहरूलाई पारिश्रमिकसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । समाजको २३ औं वार्षिकोत्सवको अवसरमा सञ्चालित भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा समेत सार्वजनिक गरिएको छ । सान्त्वना पुरस्कार अन्तर्गत १५ वटा स्मार्ट घडी चिट्ठा नम्बरहरू क्रमशः १५७०, ११८४, १२६३, २०७५, १५८७, १०७५, १८७०, १६४९, १८९४, १५६४, २७६३, २८६३, २२६४, २६१२ र १४२८ ले जितेका छन् । त्यस्तै तेस्रो पुरस्कार स्मार्टफोन चिट्ठा नम्बर २२८२ ले जितेका छन् । दोस्रो पुरस्कार ४२ इन्चको स्मार्ट टिभी चिट्ठा नम्बर  २९७२ ले जित्दा पहिलो पुरस्कार ल्यापटप चिट्ठा नम्बर १६३९ ले जितेका थिए ।

सम्बन्धित खबर