२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जो एमालेको केन्द्रीय कमिटीबाट ‘रिङआउट’ भए 

shivam cement
२०८२ पुष ४ गते १५:४९
Shares
जो एमालेको केन्द्रीय कमिटीबाट ‘रिङआउट’ भए 

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी र पदाधिकारीमा थुप्रै नयाँ अनुहार पुगेका छन् । १९ सदस्यीय पदाधिकारी कमिटीमा आठ नयाँ नेताको इन्ट्री भएको छ । साथै, यसअघिको कमिटीमा रहेका झन्डै एक दर्जन नेताहरुलाई महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वबाट ‘रिङआउट’ गरिदिएका छन् । 

नेता सुरेन्द्र पाण्डे १०औं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए । यसपटक महासचिवमा शंकर पोखरेलसँग प्रतिस्पर्धामा उत्रिएका उनी महासचिव मात्र हारेनन्, एमालेको केन्द्रीय सदस्य पनि हुन सकेनन् । अघिल्लो कार्यसमितिका अर्का उपाध्यक्ष गुरु बराल यसपटक अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट उपाध्यक्ष दोहोरिन चाहेका थिए । तर, उनी  उपाध्यक्ष र केन्द्रीय सदस्य दुबै हुन सकेनन् ।

अध्यक्ष ओलीका विश्वासपात्र मानिएका उपमहासचिव विष्णु रिमाल सोही पदमा दोहोरिन चाहेका थिए । तर, महाधिवेशन प्रतिनिधिले उपमहासचिव मात्र होइन, केन्द्रीय सदस्यसमेत पत्याएनन् । उनी पनि एमालेको केन्द्रीय कमिटीबाट रिङआउट भएका छन् ।

उपाध्यक्षमा प्रतिस्पर्धा गरेका परशुराम मेघी गुरुङ र अरुण नेपाल, उपमहासचिवका उम्मेदवार वैजनाथ चौधरी र सचिवका उम्मेदवारहरू विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठ पनि केन्द्रीय कमिटीमा अटाएनन् । वर्षौदेखि केन्द्रीय कमिटीमा रहँदै आएका यी नेताहरु यसपटक रिङआउट भएका हुन् । 

एमाले महाधिवेशनले केन्द्रीय पदाधिकारीमा केही नयाँ अनुहार भित्र्याएको छ । रघुजी पन्त पार्टी उपाध्यक्षका रुपमा पहिलोपटक पदाधिकारी बनेका छन् । त्यस्तै, सचिवमा निर्वाचित नौमध्ये आठ नेता पहिलोपटक पदाधिकारी बनेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, युवा संघबाट उदाएका नेता महेश बस्नेत, खगराज अधिकारी, भानुभक्त ढकाल, राजन भट्टराई र शेरधन राईले सचिव हुँदै पार्टीको कोर अफ लिडरसीप मानिने पदाधिकारीमा डेब्यु गरेका छन् ।

सम्बन्धित खबर