२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रोयल नेपाल युथ एसोसिएसनले मनायो प्रथम वार्षिकोत्सव

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष ४ गते २०:२२
Shares
रोयल नेपाल युथ एसोसिएसनले मनायो प्रथम वार्षिकोत्सव

दोहा कतार : रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । "युवा सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम" सहित बिहीबार राति फूलबारी रेस्टुरेन्टमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रम रोयलका अध्यक्ष केशु मल्ल ठकुरीको सभाध्यक्षता तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्वहरू, समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले रोयलले समाज परिवर्तनमा विशेष योगदान दिनुपर्नेमा जोड दिए ।

विशेष वक्ताका रूपमा रहेका समाजका अगुवा सागर नेपालले कतारमा मात्र नभई नेपालमा समेत जेनजीको समय चलिरहेको हुँदा हरेक ठाउँमा युवा अगाडि बढ्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय समाजमा देखिएका नकारात्मकता प्रति लक्षित गर्दै कम्तीमा आफू असल छोरा छोरी बन्न सबैले प्रण गर्नुपर्ने आवश्यकता औंल्याए । प्रवासमा नाम र थरले नभई राष्ट्रियताले परिचय दिने हुँदा नेपाली यस्तो त्यस्तो भनेर सदैव नकारात्मक टिप्पणी सुन्न, देख्न र बोल्न नपरोस् भन्ने सकारात्मक सोच सहित कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।  

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि पन्थीले समाजमा युवा नेतृत्वमा आउनुपर्ने बताए । उनले एनआरएनएको केन्द्रमै एकता भइसकेको हुँदा छिट्टै कतारमा पनि एकता हुने विश्वास व्यक्त गरे । छिट्टै एकताका लागि छलफल हुन लागेको हुँदा कतारमा रहेका एनआरएनएले छाती चौडा पारेर अगाडि बढ्नुपर्नेमा बताउँदै अर्को पक्षले बाटो नबिराओस् भन्ने शुभेच्छा व्यक्त गरे । पन्थीले एकताका लागि आफ्नो नेतृत्वमा रहेको एनसिसी हदैसम्म लचिलो बन्ने बताए । 

नेपालबाट आमन्त्रित गायक अरुण सुनारसहित कतारमा रहेका दर्जनौं कलाकारले सागीतीक प्रस्तुति दिएको कार्यक्रममार्फत सम्पूर्ण कलाकारहरूलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा पत्रकार, कार्यक्रमका प्रमुख अतिथि पन्थी र फूलबारी रेस्टुरेन्टका सञ्चालक श्याम पौडेललाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रम संयोजक राजेन्द्र मल्ल ठकुरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव रमेश गुरुङले संस्थाको एक वर्षे कार्यप्रगति पेस गरेका थिए ।  सुरत शाहीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ठकुरीले आफूहरूले कतारमा सामाजिक कार्यमा योगदान दिँदै अगाडि बढ्न चाहे पनि कतिपयले गलत अर्थले बुझेको हुँदै युवाहरूको लक्ष्यलाई समाजले सकारात्मक लिनुपर्ने बताए । कसैले पनी युवाहरूलाई जुधाउन नहुने धारणा राख्दै सबै जना एकजुट भएर समाजसँगै मिलेर अगाडि बढ्ने आफूहरूको लक्ष्य रहेको बताए ।

सम्बन्धित खबर