२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भेरीगंगामा कृषि–पर्यावरणीय नीति निर्माणका लागि पालिका स्तरीय संवाद

shivam cement
पूर्ण सार्की
२०८२ पुष ७ गते २१:०६
Shares
भेरीगंगामा कृषि–पर्यावरणीय नीति निर्माणका लागि पालिका स्तरीय संवाद

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले कृषि पर्यावरणीय नीति निर्माणका लागि पालिका स्तरीय संवाद गरेको छ । 

भेरीगंगा नगरपालिका कृषि विकास शाखा र लि–वर्ड संस्थाको समन्वय तथा सहकार्यमा कृषि पर्यावरण संरक्षण,सम्वर्धन  र दिगो उपयोगका विषयमा केन्द्रित पालिका स्तरीय कृषि पर्यावरणीय नीति संवाद कार्यक्रम गरिएको पालिकाका कृषि शाखा प्रमुख सुरज विसीले जानकारी दिए । 

कार्यक्रममा प्रकृतिमा आधारित समाधानका प्रविधिहरूको वर्तमान अवस्था, हालसम्म भएका प्रयासहरू तथा भावी कार्यदिशाको मार्ग चित्रबारे विस्तृत छलफल गरिएको छ । पालिकामा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दै दिगो कृषि प्रणाली विकास गर्ने उद्देश्यले नीति निर्माण तहमा आवश्यक सुझाव संकलन गर्न छलफल केन्द्रित रहेको लि–वर्ड संस्थाका कार्यक्रम प्रमुख अधिकृत केशव विष्टले जानकारी दिए । उनले भेरीगंगालाई प्रांगरिक कृषि प्रवद्र्धनमा जोड दिन निरन्तर वर्षौदेखि सहकार्य गरी राखेको समेत बताए । संवाद कार्यक्रममा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख तिलक पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता नै पर्यावरणीय कृषि प्रणाली रहेको उल्लेख गरे । उनले भेरीगंगाले कृषिसँग सम्बन्धित दीर्घकालीन योजना तर्जुमा गरेमा आवश्यकता अनुसार बजेट विनियोजन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कर्णालीको भेरीगंगामा कृषिसम्बन्धी संरचना धेरै निर्माण भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा यस क्षेत्रलाई ‘कृषिको हब’ का रूपमा विकास गर्न सकिने धारणा राखे । भेरीगंगाका नगर प्रमुख यज्ञप्रसाद ढकालले आफू निर्वाचित भएदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भेरीगंगा दूध उत्पादनमा आत्मनिर्भर भइसकेको र यहाँ उत्पादित दूध प्रदेश राजधानी वीरेन्द्रनगरसहित नेपालगञ्ज, बुटवल र दाङसम्म पुग्ने गरेको जानकारी दिए । दूधसँगै तरकारी र फलफूल उत्पादनमा पनि भेरीगंगा प्रसिद्ध रहेको बताउँदै आवश्यक लगानी भए नगरबासीको आर्थिक अवस्था परिवर्तन गर्न सकिने उनको भनाइ थियो । उनले नगरभित्र निर्माण भएका विषादी केन्द्रलगायतका कृषि संरचना बजेट अभावका कारण अलपत्र परेको उल्लेख गर्दै प्रदेश सरकारले बजेट विनियोजन गरे ती संरचना पुनःसञ्चालनमा ल्याउन सकिने बताए । 

साथै नगरपालिकाले कृषि नीति, कृषिसम्बन्धी ऐन र कृषि–वन रणनीतिक कानुन निर्माण गरिसकेको जानकारी पनि दिए । नगर उप–प्रमुख धनसरा बोहोराले पालिकाको कुल बजेटको २.१५ प्रतिशत बजेट अर्गानिक तथा पर्यावरणीय कृषि प्रवद्र्धनका लागि छुट्याइएको जानकारी दिइन् । उनले आगामी दिनमा भेरीगंगालाई ‘अर्गानिक नगरपालिका’ घोषणा गर्ने योजना रहेको बताउँदै संघ र प्रदेशका कार्यविधिका कारण नीति निर्माण तथा कार्यान्वयनमा केही असहजता रहेको उल्लेख गरिन् । कृषकलाई आत्मनिर्भर बनाउन खाद्य नीति निर्माण गरिएको बताउँदै थप सिँचाइ सुविधा र अर्गानिक उत्पादन चिनाउने लोगो निर्माण आवश्यक रहेको उनको भनाइ थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाले बजेट व्यवस्थापनको अभावले निर्माण भएका नीतिहरू कार्यान्वयनमा समस्या आएको बताए । उनले नीति कार्यान्वयनका लागि कर्मचारी तहदेखि नै पहल आवश्यक रहेको उल्लेख गर्दै कृषि प्राविधिकहरूलाई दक्ष बनाउने तालिम आवश्यक रहेको औंल्याए । नीति संवाद कार्यक्रमबाट प्राप्त सुझाव, सल्लाह तथा निष्कर्षले भेरीगंगाको कृषि तथा पर्यावरणीय नीतिलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास पालिकाको गरेको  छ । 

कार्यक्रममा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख, भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि, कृषि प्राविधिक तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर