२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

गायकद्वय बुद्धिराम शर्मा र अरुण सुनार कतारमा सम्मानित

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष ९ गते २०:०८
Shares
गायकद्वय बुद्धिराम शर्मा र अरुण सुनार कतारमा सम्मानित

दोहा, कतार : सांगीतिक प्रस्तुति दिन कतार आएका गायकद्वय बुद्धिराम शर्मा र अरुण सुनार सम्मानित भएका छन् । पर्वत समाज कतारको एक सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन आएका गायकद्वयलाई गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतका जिल्ला संस्थाहरूको तर्फबाट संयुक्त रूपमा सम्मान गरिएको हो । उनीहरूलाई ढाका टोपी लगाउँदै सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

परिषद्का अध्यक्ष नन्दलाल विक (अजय)को सभाध्यक्षता तथा संस्थापक अध्यक्ष आशबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै गायक शर्माले लोक गीतको मुलमाटो गण्डकी प्रदेश रहेको बताए । उनले पछिल्लो प्रविधिलाई लक्षित गर्दै अहिले गायक तथा कलाकार बन्न सहज देखिए पनि राम्रो शब्द लेख्न नजाने, उत्कृष्ट आवाज (राजु परियारको स्वरको उदाहरण दिँदै) र लय सिर्जना गर्न सक्ने क्षमता नभएका व्यक्ति कलाकारितामा प्रवेश नगर्न सुझावसमेत दिए ।

उनले सबै गीतको लयले सर्जकको मुटु नछोएसम्म दर्शकको मुटु नछुने बताए । आफ्ना जीवनकालका उतारचढाव उपस्थितमाझ साझा गर्दै शर्माले उनका केही कालजयी गीतका टुक्का समेत गाएर सुनाएका थिए ।

सम्मान ग्रहणपछि बोल्दै अर्का युवा गायक सुनारले कार्यक्रम आयोजना गर्दा युनिटी पनि देखिने र आफू जस्तै नयाँ कलाकारले ठाउँ पनि पाउने हुँदा कार्यक्रमका आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तव्य राखेका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । महासचिव मनप्रसाद राना मगरले सहजीकरण गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले कलाकारद्वयको सांगीतिक यात्रामा थप सफलताको शुभकामना दिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले गण्डकी प्रदेशभित्रका खेलाडी, कलाकार या साहित्यकार कतार भ्रमणमा रहँदा परिषद्ले स्नेह मिलन तथा सम्मान गर्ने गरेको इतिहास रहेको र आफ्नो कार्यकालभरि रहने स्पष्ट पारे ।

सम्बन्धित खबर