
दोहा, कतार : नवोदित म्याग्देली कलाकारहरू मिलेर तयार पारेको पञ्चेबाजा गीत ‘बागलुङे माया’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । माया प्रेमका शब्दभित्र म्याग्दीका विभिन्न पर्यटकीय स्थललाई समेत चित्रण गर्दै सुजल विश्वकर्माले शब्द कोरेका छन् । उनका शब्दमा एक दशक देखी नेपाली गीतसंगीतमा संघर्ष गरिरहेका गायक बाबुराम रसाइलीले संगीत भरेका छन् ।
कलाको खानी मानिने म्याग्दी जिल्लाका बहुप्रतिभाशाली सञ्चारकर्मी समेत रहेका अमित विश्वकर्माको आवाज रहेको गीतमा नवोदित गायिकाका रूपमा दिलु मगरको आवाज सुन्न सकिन्छ । म्याग्दीकै मंगला गाउँपालिका–३ सातविसेमा छायांकन गरिएको म्युजिक भिडियोमा राम बाबु, थम माया घर्ती मगर, करन कँडेल, यशोदा कार्कीलगायतले अभिनय गरेका छन् । समीर रामदामले निर्देशन/छायांकन तथा सम्पादन गरेको भिडियोमा रंगरोगन सुजन कोइरालाले गरेका हुन् । बाबुरामकै नयाँ युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोले गाउँको विशुद्ध मौलिक बिहेको झल्को दिन्छ ।