२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

१२ वर्षपछि भ्रष्टाचारी ठहर

ADV
शिव विक
२०८१ साउन १४ गते ०६:४०
१२ वर्षपछि भ्रष्टाचारी ठहर

काठमाडौं : राजनीतिमा स्थापित हुने र मुलुकै नेतृत्वमा पुग्न चाहने नेताहरू परराष्ट्र र गृहमन्त्री बन्न चाहन्छन् । परराष्ट्र मन्त्री भएर बाह्य सम्बन्ध बलिया बनाउँदै राजनीतिमा स्थापित हुने र गृहमन्त्री भएर सूचना संकलन आदिमा पकड जमाएर आन्तरिक राजनीतिमा स्थापित हुँदै मुलुकको नेतृत्व गर्ने यी पदमा पुगेका केही भने लालचमा फस्दा राजनीतिमा कुपात्रका रुपमा समेत चित्रित हुन पुगेका उदाहरण छन् । 

यस्तै एक उदाहरण बनेका छन् – पूर्वगृहमन्त्री गोविन्दराज जोशी । पावरफूल मन्त्रालयको नेतृत्व हाँकेका जोशी १२ वर्षपछाडि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बाह्र वर्षपछि खोलो समेत फर्किने नेपाली टुक्कालाई चरितार्थ गर्ने गरी पूर्वगृहमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी सर्वोच्च अदालतबाट दोषी ठहर भएका हुन् । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय  विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । 

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद हुने फैसला पनि गरेको थियो । 

न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले सजायमा केही फेरबदल गर्दै ६९ लाख १५ हजार रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशीले फागुन २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि कांग्रेसका प्रभावशाली नेता रहेका जोशीले गृहसहितका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसरी पदमा रहँदा उनले अवैधानिक रुपमा अकुत आजर्न गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको थियो । 

जोशीको ०४८ देखि ०५९ सालसम्म सार्वजनिक पदमा रहँदा गरेको आय आर्जन र खर्चबीचको तादाम्यता नमिलेपछि भ्रष्टाचार मुद्दामा तानिएका हुन् । यही तर्कमा टेकेर  विशेष अदालतका तत्कालीन अध्यक्ष कार्की र न्यायाधीशहरु मिश्र र चालिसेको इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेका थिए ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले पनि जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । १२ वर्ष अगाडि विशेष अदालतले गरेको ठहर र कैद सजायमा केही फेरबदल गर्दै सजाय सुनाएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise