२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

शीर्ष नेतासँगको भेटपछि सञ्चारमन्त्री खरेलले भने- फागुन २१ मै निर्वाचन, सबै दल सहभागी हुन्छन्

shivam cement
२०८२ पुष ११ गते १९:०४
Shares
शीर्ष नेतासँगको भेटपछि सञ्चारमन्त्री खरेलले भने- फागुन २१ मै निर्वाचन, सबै दल सहभागी हुन्छन्

काठमाडौं : निर्वाचनको वातावरण बनाउनका निम्ति सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भेट गरी निर्वाचनको माहोल बनाउन छलफल गरेका छन् ।

सञ्चारमन्त्री खरेलले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग उनीहरूकै निवास पुगेर निर्वाचनबारे कुराकानी गरेका हुन् ।

तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारे ।

निर्धारित मितिमै प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिँदै उनले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय, नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, “निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ । तीन ठूला दलका शीर्ष नेताले भेटकाक्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ । त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन् । कांग्रेसका तर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो, पुनर्स्थापना प्राथमिकता होइन भन्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाउनुभएको छ ।”

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डको निजी निवासमा भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चारमन्त्री खरेलले प्रधामन्त्री सुशीला कार्की स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रूपमा अघि बढाइरहेको जानकारी दिए । संयोजक दाहालले निर्वाचनको विकल्प नभएको दोहोर्‍याउँदै तोकिएको मितिमै निर्वाचन हुनुपर्छ भन्नेमा जोड दिएको उनले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले भने, “सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो । त्यसक्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ ।”

वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उनले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफलाई लगातार अघि बढाइरहेको स्पष्ट पारे ।

उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरु सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरे ।

सञ्चारमन्त्री खरेलले भने, “प्रमुख तीन दलका शीर्ष नेताहरूले आफूसँगको भेटमा आफूहरू चुनाव विरोधी होइनौं, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो । ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राख्नुभएको छ ।”

कांग्रेस सभापति देउवाले चुनावको विकल्प छैन, प्रतिनिधिसभाको पुनर्स्थापना आफ्नो पार्टीको मुद्दा होइन भनेर स्पष्ट धारणा राखेको जनाउँदै मन्त्री खरेलले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पनि निर्वाचनको विकल्प नरहेकाले अबको यात्रा भनेकै चुनाव हो भनी स्पष्ट धारणा आएको जानकारी दिए । एमाले अध्यक्ष ओलीले चुनावमा जानुपर्छ, तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गरेको मन्त्री खरेललेको भनाइ थियो ।

दलहरूबाट व्यक्त भावनाअनुरुप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री खरेलले भने, “शीर्ष नेताहरूसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ । सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन् ।”

यसैगरी, निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्दै छिन् ।

सम्बन्धित खबर