
काठमाडौं : कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५औं महाधिवेशन मिति नजिकिँदै छ । तर क्रियाशील सदस्यता टुुंगो लगाउने गरी आवश्यक तयारीमा नेताहरूले दतारुकता नदेखाउँदा घोषित महाधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय समितिले मंसिर १५ गतेको बैठकबाट पुस २६–२९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यता घोषित समयमा महाधिवेशन हुने छाँटकाँट नदेखिएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले विशेष भेला डाक्ने तयारी गरेको छ । उनीहरू आगामी पुस २५ र २६ गते भेला बोलाउने तयारी गरेका छन् ।
यसअघि विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर असोज २९ मा पार्टीमा दर्ता गरेका थिए । त्यसैको दबाबमा केन्द्रीय समिति नियमित महाधिवेशनको तालिका ल्याउन बाध्य भएको थियो । तर निर्णय कार्यान्वयन नहुुनु पार्टी र देशकै लागि दुुर्भाग्य भएको हस्ताक्षर अभियानका नेता गुुरुराज घिमिरे बताउँछन् । उनले भने, ‘हामीले पार्टीलाई विधि र विधानसम्मत लैजाऔं, आमनागरिकको भावना समेटेर नयाँ नेतृत्वसहित नयाँ नीति कार्यक्रम लिएर जनतामाझ जाऔं भनेका हौं । तर पार्टीका विभिन्न पदमा बसेर निरन्तर खाइपाइ आएका केही व्यक्तिको स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वसमेत सती जाने अवस्था देखियो । अब हामी पछि हट्ने अवस्था छैन ।’
डेढ महिना लामो रस्साकसीपछि निर्णय गरेको महाधिवेशनको कार्यतालिका पुनः हेरफेरका विषयलाई लिएर नेताहरूबीच चर्काचर्की भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार अबेर बसेको कार्यसम्पादन समितिको बैठकमा संस्थापन पक्षका नेता र महामन्त्रीबीच सौहार्दता देखिएन । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अधिकांश नेताहरू ३ बजेपछि मात्रै पुुगेका थिए । त्यसअघि गुटको बैठक सकेर नेताहरू सहमति गर्न पार्टी कार्यालय पुुगेका थिए । राति अबेरसम्म बैठक बसिरहे पनि निर्णयमा पुुग्न सकस देखिएको छ । समानुुपातिक बन्द सूचीका लागि मापदण्ड बनाउन बसेको कार्यसम्पादन समितिको बैठक निर्णयमा पुग्न नसक्दा निर्वाचन आयोगले तोकेको मितिमा सहजै बन्द सूची पठाउनसमेत कांग्रेसलाई निकै सकस देखिएको छ ।
महाधिवेशनकै एजेन्डालाई लिएर पार्टीभित्र देखिएको कित्ताकाटले विशेष महाधिवेशनमा जाने अवस्था आएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले मध्यान्हसँग भने, ‘नियमित महाधिवेशनको निर्णय गराउन अत्यन्तै मेहनतका साथ नेताहरूलाई कन्भिन्स गराएको थिए । अहिले आएर फेरि उही अवस्था दोहोरिने परिस्थिति बन्दै छ । नियमित महाधिवेशन समयमा नगर्ने हो भने विशेष महाधिवेशन माग्ने साथीहरूको अधिकारलाई रोक्नै सकिँदैन ।’
जेनजी आन्दोलनपछि खरानी टकटक्याएर उठ्ने प्रण गरेका कांग्रेस नेताहरू अहिलेसम्म पार्टी महाधिवेशनकै लिगलिगे दौडमा अल्झिएको नेताहरूले बताएका छन् । पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकको एजेन्डा नै प्रतिनिधि सभा निर्वाचनमा पठाउने समानुपातिक उम्मेदवारको मापदण्ड, अनुशासनको कारबाही र राष्ट्रिय सभा निर्वाचन तयारी सम्बन्धमा छ । तर उक्त बैठकमा महाधिवेशनको विषयले प्राथमिकता पाएको छैन ।
‘निर्वाचनमा जाने निर्णयअनुुसार प्रतिनिधि सभाको निर्वाचनको तयारीमा कांग्रेस होमिएको छ’, सहमहामन्त्री महेन्द्र यादवले भने, ‘जिल्लाबाट सबै उम्मेदवारको टिकट सिफारिस आइसकेकाले समानुुपातिक बन्द सूचीका लागि टिकट टुंगो लगाउन नै हामी बैठकमा जुटेका छौं ।’ पार्टीको महाधिवेशनका लागि क्रियाशील सदस्याताको काम जारी रहेकाले निर्वाचन पछि मात्रै महाधिवेशन हुने उनले दाबी गरे ।
गत भदौमा भएको जेजनी आन्दोलनपछिको राजनीतिक परिस्थिति मूल्यांकन गरेर कांग्रेसले आमनिर्वाचनअगावै नयाँ नेतृत्वसहित नयाँ नीति कार्यक्रम लिएर जानुपर्ने आम दबाबबीच शीर्ष नेता निर्वाचनअघि महाधिवेशन गर्न सहमत भएका थिए । संस्थापन पक्षका अधिकांंश नेताहरूले निर्वाचनअघि महाधिवेशन गर्न चाहेका थिएनन् । तर संस्थापनइतर पक्षको दबाबलाई थेग्न नसकेपछि महाधिवेशनको मिति तय गरे पनि तालिकाअनुसारको काम गर्न नसकेको नेताहरूले बताए । समय अपुुग भएको महाधिवेशनको कार्यतालिका हेरफेर हुने अवस्था आएको कांग्रेस नेता डा. डिला संग्रौलाले बताइन् । उनले मध्यान्हसँग भनिन्, ‘आमनिर्वाचनअघि पार्टीको महाधिवेशन गर्नेुपर्ने दबाबअनुसार अत्यन्तै छोटो समय सीमा राखेर कार्यतालिका ल्याएका थियौं । तर त्यसअनुुसार काम गर्न सकिएन । महाधिवेशनको मिति केही पर सर्छ, धेरै टाढा जाँदैन ।’ महाधिवेनकै तयारीमा आफूहरू जुटे पनि पछिल्लो समय महाधिवेशनभन्दा निर्वाचनको चाप बढ्दै गएको उनको भनाइ छ ।
समयमै नियमित महाधिवेशन नभएर विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले १५औं महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा विशेष महाधिवेशन पक्षधरहरूको ज्ञापनपत्र बुझ्दै उनीहरूले पुसभित्र नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुने विश्वास दिलाए । तर संस्थापन पक्षले विशेष महाधिवेशन टारेर नियमित महाधिवेशन सार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । यसले आगामी आमनिर्वाचनमा कांग्रेसलाई थप क्षति हुने तल्लो तहका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
कांग्रेसले मंसिर १५ को निर्णयअनुसार पुस १६ बाट वडा अधिवेशन थाल्ने तालिका ल्याएको थियो । आन्तरिक महाधिवेशनबाट नयाँ नेतृत्वसहित आमजनतामा जानुपर्ने कांग्रेसमाथि महाधिवेशनभन्दा प्रतिनिधि सभा निर्वाचनको दबाब बढ्दै गएको छ । यसअघि गत असोज २८ देखि कात्तिक १५ सम्म चलेको केन्द्रीय समितिको बैठकमा आ–आफ्ना एजेन्डामा दुवैपक्ष अडिक भए पनि महाधिवेशनको निर्णय गर्न सभापति शेरबहादुर देउवा नै अघि सर्नुपरेको थियो । उनी असोज २७ मै बैठक प्रारम्भ गरेर सक्रिय राजनीतिबाट बिदा लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । तर कार्यवाहक सभापति खड्काले सुरुमै गुटको भेला राखेर आफैं असफल बन्ने बाटो रोजे । त्यहीअनुसार उनी विवादमा मात्रै आएनन्, आफ्ना अक्षमतालाई समेत प्रदर्शन गरेको आरोप खेप्दै आएका छन् ।
क्रियाशील सदस्यता नवीकरण ७५ प्रतिशत मात्रै
नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीका ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम सकिएको जनाएको छ । समितिको बिहीबार बसेको बैठकमा ७५ प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेको प्रतिवेदन पेस भएको सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
त्यस्तै बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सकेका ओमान, साउदी र युएई जनसम्पर्क समितिलाई अधिवेशन गर्ने अनुमति दिन पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्यता नवीकरण र वितरणको फाइल पठाउने निर्णय गरेको छ । क्रियाशील सदस्यता नवीकरण र वितरण जुनजुन जिल्लामा सुस्त गतिमा भइरहेको छ, त्यहाँ आपसी सहमतिमा फास्ट ट्र्याकबाट टुंग्याउने निर्णय समितिले गरेको सदस्य स्नेहीले बताए ।
सदस्यता स्थानान्तरणको विषयमा पार्टी विधानमा भएको मापदण्डलाई कडाइका साथ लागू गरेर निर्णय गर्ने सहमति बैठकमा भएको छ । अहिले क्रियाशील सदस्यता वितरणका फारम १ सय २५ निर्वाचन क्षेत्रमा सर्भरमा प्रविष्ट गर्ने काम भइरहेको समितिले जानकारी दिएको छ । त्यस्तै, कपिलवस्तुमा तत्कालीन जनता समाजवादी पार्टीको प्रदेशस्तरीय समिति नै गाभेका सहजराज यादवलाई सदस्यता नवीकरणका लागि ७ सय ७५ फारम दिने निर्णय गरिएको पनि स्नेहीले जानकारी दिए ।