
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व मेटाएर एकता सम्भव नहुने बताएका छन् । काठमाडौंको बौद्धमा आयोजित कार्यक्रममा उनले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढ्नु नै साँचो एकता भएको स्पष्ट पारे ।
देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको भन्दै उनले नयाँ शक्तिहरू अहंकार त्यागेर साझा उद्देश्यका लागि एकजुट हुनुपर्ने बताए । उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको उल्लेख गर्दै उज्यालो सन्देश गाउँ–गाउँ पुर्याउन कार्यकर्तालाई निर्देशन दिए ।
मन्त्री घिसिङले जनतामाझ पार्टीप्रति विश्वास बढ्दै गएको दाबी गर्दै आगामी २१ फागुनको निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिन आग्रह गरे । सानो झिल्कोबाट सुरु भएको उज्यालो अभियान आज राष्ट्रिय अभियान बनेको उनको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा जेलमुक्त भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नयाँ दलहरूसँग एकताबारे छलफल तीव्र पारेका छन् । सोही विषयलाई लक्षित गर्दै उनले कसैको अस्तित्व मेटाएर एकता गर्न सम्भव नहुने बताएका छन् ।