२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : चुनाव जसरी पनि सफल पारौं

shivam cement
२०८२ पुष १२ गते १७:०५
Shares
तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : चुनाव जसरी पनि सफल पारौं

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित बैठकमा तीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन सफल पार्न सबैको साझा जिम्मेवारी भएको स्पष्ट पार्दै सहयोगको आग्रह गरेकी छन् । 

प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गरी बैठकमा उपस्थित भएकोमा धन्यवाद दिँदै बालुवाटार सबै नेताहरूको साझा घर भएको बताइन् । आफू न्याय क्षेत्रबाट आएको व्यक्ति भएको स्मरण गराउँदै राष्ट्रपतिबाट निर्वाचन गराउने स्पष्ट कार्यादेश प्राप्त भएकाले सरकार पूर्णरूपमा चुनावको तयारीमा जुटिरहेको उनले जानकारी दिइन् । 

‘प्रशासनिक कामकारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेकी छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो निर्वाचन जसरी पनि सफल पार्नुपर्छ, र त्यसका लागि सबै दलको सहभागिता अनिवार्य छ ।’

उनले वर्तमान राजनीतिक वातावरण निर्वाचनमैत्री बन्दै गएको उल्लेख गर्दै दलहरू चुनावका लागि तयार देखिएको धारणा राखिन् । ‘त्यस्तो वातावरण बनिरहेको मैले देखेकी छु, यो स्वागतयोग्य कुरा हो,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीका अनुसार सरकारले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक सबै स्रोतसाधन उपलब्ध गराइसकेको छ । ‘भनेजति नै स्रोतसाधनको व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा यहाँहरूले पनि महसुस गर्नुभएको होला ।’

बैठकको अन्त्यमा प्रधानमन्त्री कार्कीले कुनै पनि प्रकारको अलमल नगरी राष्ट्रको भविष्यलाई केन्द्रमा राख्दै स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्न सबैलाई आह्वान गरिन् । ‘यो हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भनिन् । 

बालुवाटार बैठकमा शीर्ष नेताहरूबीच निर्वाचनको वातावरण, सुरक्षा व्यवस्थापन र राजनीतिक सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ ।

सम्बन्धित खबर