२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

शेखरको अडानले नेताहरूमाथिको कारबाही फुुकुुवा 

shivam cement
२०८२ पुष १२ गते २०:१८
Shares
शेखरको अडानले नेताहरूमाथिको कारबाही फुुकुुवा 

काठमाडौं : नेपाली कांग्रेसले विगतको निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरेका नेताहरू माथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । संस्थापन इतर समुहको नेतृत्व गर्दै आएका कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले उनीहरूमाथि लगाइएको कारबाही फिर्ता हुनुुपर्ने माग राख्दै आएका थिए । 

पार्टीभित्र बृहत एकता कायम गर्न विगतका निर्वाचनका क्रममा कारबाही परेका नेताहरू माथिको कारबाही फुकुवा हुनुपर्ने उनको अडानका कारण पार्टीले निर्णय लिएको बताइएको छ । नेता कोइरालाको चट्टानी अडानकै कारण कारबाहीमा सिफरिस भएका सबै नेताहरूलाई माफी दिने निर्णय गरेको हो । शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले एक विज्ञप्तिमार्फत पार्टीको निर्णय सार्वजनीक गरेका छन् ।

विकसित राजनीतिक अवस्था र आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै पार्टीलाई संगठित र बृहत एकता कायम राख्न आगामी दिनमा पार्टी हितविपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न सचेत गराउँदै विगतको कारबाहीलाई फुुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेता कोइरालाले विगत देखि नै पार्टीमा सबै मिलेर जाने र आगामी  दिनमा पार्टी हित विपरित कार्य नगर्ने चेतावनी दिएर सबै नेताहरूमाथिको कारवाही फुकुवा हुनुपर्ने जोड दिँदै आएका थिए । विगतको निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ । ‘अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरुको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

यसरी कारवाही माफी/मिनाहा भएका व्यक्तिहरुको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले बताए । त्यस्तै पार्टी परित्याग गरेकालाई घर फर्कन समेत कांग्रेसले आह्वान गरेको छ । ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ’, निर्णयमा भनिएको छ । 

त्यसरी फर्किनेहरुलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ । आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने कांग्रेसको निर्णय छ ।

सम्बन्धित खबर