२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारमा दंग छन् रुद्रकली र खगेन्द्र, हेर्न आउने नेपालीको भिड

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष १२ गते २०:४४
Shares
कतारमा दंग छन् रुद्रकली र खगेन्द्र, हेर्न आउने नेपालीको भिड

दोहा कतार : सन् २०२४ अप्रिलमा कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा गएका बेला नेपालले दुई वटा हात्ती दिने घोषणा गरे बमोजिम  १० दिन पहिले २ वटा हात्ती कतार आइपुगे । 

चितवनको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा जन्मिएका दुई हात्तीलाई चितवनबाट स्थल मार्ग हुँदै भैरहवा र डिसेम्बर १७ तारिक बुधवार साँझ साढे ५ बजे कतार एयरवेजको कार्गो विमानले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती बोकेर उडेपछि १८ तारिक कतारको राष्ट्रिय दिवसका दिन हात्तीले कतारी जमिन अर्थात् कतार विमानस्थलमा अवतरण गरेको थियो  । सोही दिनदेखि नै कतारको दोहा सहरदेखि करिब ४५ किलोमिटर टाढा रहेको अलखोर फ्यामिली पार्क तथा चिडियाखानामा व्यवस्थित रूपमा उनीहरूलाई राखिएको छ । ३ सय बढी विश्वका विभिन्न पशुपन्छी रहेको उक्त चिडियाखानामा नेपालबाट आइपुगेका खगेन्द्रप्रसाद र रुद्र कली खुसी छन् । 

शुक्रवार कतारमा हुने सार्वजनिक बिदाको दिन पारेर मध्यान्हकर्मी चिडियाखाना पुग्दा नेपालबाट आइपुगेका खगेन्द्रप्रसाद र रुद्रकलीलाई हेर्न हजारौं नेपालीको भिड थियो । दुई हात्तीको आगमन भएसँगै नेपालीहरू बाक्लै त्यहाँ पुग्ने गरेको र अन्य देशका नागरिकले पनि हात्तीको नामले पुकार्ने गरेको देखियो । 

आफ्ना देशका हात्ती भएर होला धेरैले फलफूल लगेर हात्तीलाई खुवाउन खोजे पनि रुद्र कलिको माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका माउते पाचुखा थारुले अनुमति नभएको बताउने गरेका छन् । 

साँझ ५ बजेसम्म हात्ती हेर्न आउनेहरूलाई विभिन्न क्रियाकलाप गराएर देखाइदिने माउतेद्वय हात्तीबाट झरेपछि हामीले उनीहरूसँग हात्तीका बारेमा कुराकानी ग¥यौं । कुराकानीका क्रममा नेपालीहरू र विदेशीहरूले पनि हात्तीप्रति अथाह माया देखाएको बताए । हामीले हात्तीको खाना, बस्न र हिँड्डुलका बारेमा जिज्ञासा राख्यौं । माउतेहरूले हात्तीलाई हिड्डुल गर्न स्थान कम भएको बताए । ‘चितवनमा दैनिक ६०÷७० किलोमिटर यात्रा गर्ने हात्तीहरू यहाँ दैनिक २०/३० किलोमिटर मात्र हिँड्ने गर्छन्’ उनीहरूले भने । 

बिहान एक छिन बाहिर कम्पाउन्ड आसपास डुलाउने र बाँध्ने दिउँसो ३ बजेपछि माउतेहरू हात्तीमाथि चढेर आउने पर्यटक सामु डुल्ने घुम्ने रमाउने उनीहरूको दिनचर्या बनेको छ । 

उनीहरूका लागि खाना भरपुर मात्रामा रहेको, त्यस्तो केही दुःख अभाव माउते र हात्तीका लागि पनि नरहेको र हात्तीहरू पनि यहाँ खुसी रहेको सुनाए ।  हात्ती आफूमा खुला ठाउँमा बस्न रुचाउने प्राणी भएपनि उनीहरूका लागि वातावरण अनुकुलित एसी रुमको समेत व्यवस्था रहेको माउतेले बताए । 

एक महिनाका लागि आएका माउतेहरूसँगको कुराकानीमा आफूहरूको कतार बस्ने सम्भावना बढ्दै गएको र नेपालबाट थप अन्य दुई जना माउते पनि आउन सक्नेतर्फ संकेत गरे  । 

रुद्र कली र खगेन्द्रका माउते श्रेष्ठ र थारूले उनीहरूको जिउमा विभिन्न नक्सा बनाएर तथा नाम लेखिदिएर आकर्षण मात्र होइन चिन्नका लागि सहज समेत बनाइदिएका छन् । माउतेहरूसँग कुराकानी सकेर बाहिरिने क्रममा त्यहाँ पुगेकामध्ये केही नेपालीहरूले खगेन्द्र नेपाल जाने ? रुद्र कलि नेपाल जाने ? भनेर सोध्दा हात्तीले आवाज निकालेर अ...को संकेत गर्दै गर्दा ती सोध्ने नेपालीहरूले अ भन्दैछ विचरा भनेको शब्दले मन भने अमिलो भयो ।

सम्बन्धित खबर