
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ ।
आचारसंहितामा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित बनाउँदै गलत तथा भ्रामक सूचना, चरित्रहत्या र भड्किलो प्रचारप्रसार निषेध गरिएको छ । साथै निर्वाचनसम्बन्धी व्यवस्था र दलका घोषणा पत्रसम्बन्धी नयाँ प्रावधान पनि समेटिएको छ ।
राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई सभ्य र अनुशासित ढंगले प्रचारप्रसार गर्न आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लंघन भएमा जरिवाना, दण्ड सजायदेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुने चेतावनी दिइएको छ ।
आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन संयन्त्र सक्रिय राख्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी निर्वाचन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको छ ।
निर्वाचन आचारसंहिता माघबाट लागु हुनेछ ।

