
इस्लामाबाद : अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध गरेको द्रुत र सटीक प्रतिशोधी कारबाहीले पाकिस्तानलाई सैन्य रूपमा मात्र नभई राजनीतिक र नेतृत्व तहसम्म गहिरो रूपमा हल्लाएको छ ।
उक्त कारबाहीका कारण शीर्ष नेतृत्वमा समेत डर पैदा भएको स्वीकार गर्दै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले मे महिनामा उत्पन्न तनावका बेला आफूलाई बंकरमा शरण लिन सल्लाह दिइएको खुलासा गरेका हुन् ।
शनिबार आयोजित एक कार्यक्रममा उनले मे महिनामा नयाँदिल्लीले गरेको जवाफी आक्रमणका क्रममा आफ्नो सैन्य सचिवले उनलाई तत्काल सुरक्षाका लागि बंकरमा जान आग्रह गरेको जानकारी दिए । उनका अनुसार भारतीय सैन्य कारबाहीका कारण पाकिस्तानको शीर्ष नेतृत्व तीव्र दबाब र भयको अवस्थामा पुगेको थियो ।
मे महिनामा भएको उक्त सैन्य वृद्धि भारतको ‘अपरेसन सिन्दूर’ का रूपमा चिनिन्छ । यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी हमलाको प्रत्यक्ष जवाफ थियो, जसमा २६ जना निर्दोष सर्वसाधारणको ज्यान गएको थियो ।
त्यसपछि भारतले पाकिस्तान र पाकिस्तानको कब्जामा रहेको जम्मू–काश्मीर (पिओजेके) भित्र रहेका नौवटा आतंकवादी शिविरलाई लक्षित गर्दै सशस्त्र कारबाही गरेको थियो । उक्त अपरेसनअन्तर्गत भारतीय सशस्त्र बलले मे महिनामा पाकिस्तानी सैन्य प्रतिष्ठानहरूमा रणनीतिक र सटीक आक्रमण गरेको बताइएको छ ।
राष्ट्रपति जरदारीले सैन्य सचिवको चेतावनीका बाबजुद आफूले बंकरमा प्रवेश गर्न अस्वीकार गरेको स्पष्ट गरे । उनले भने, ‘मेरो एमएस (सैन्य सचिव) मसँग आएर भने, ‘सर, युद्ध सुरु भइसकेको छ ।’ मैले त चार दिन अघिनै युद्धको सम्भावनाबारे जानकारी दिएको थिएँ । तर उहाँले फेरि भन्नुभयो, ‘सर, बङ्करमा जानुहोस् ।’ त्यसपछि मैले भनेँ, ‘यदि शहादत आउनु छ भने, त्यो यहीँ आउनेछ । नेताहरू बङ्करमा मर्दैनन्, उनीहरू युद्धभूमिमा मर्छन् ।’
भारतीय सशस्त्र बलले अप्रिल २२ को पहलगाम आतंकवादी हमलाको जवाफस्वरूप मे ७ को बिहान औपचारिक रूपमा अपरेसन सिन्दूर सुरु गरेको थियो । यसपछि भारत र पाकिस्तानबीचको द्वन्द्व थप गहिरिँदै गएको थियो । त्यस क्रममा पाकिस्तानतर्फबाट सीमापार गोलाबारी बढेको र भारतीय सशस्त्र बलले त्यसको कडा जवाफ दिएको विवरण सार्वजनिक भएका थिए ।
युद्धको स्थिति चर्किंदै गएपछि घटनाक्रमले एक्कासी नयाँ मोड लियो । पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशक (डिजिएमओ)ले भारतका डिजिएमओसँग सम्पर्क गर्दै युद्धविरामको प्रस्ताव राखेका थिए, जसलाई भारतले स्वीकार गरेको बताइएको छ । पाकिस्तानी पक्षबाट आएको उक्त सम्पर्कको पुष्टि भारतका विदेश सचिव विक्रम मिस्रीले पनि गरेका छन् । उनका अनुसार दुवै देश भूमि, समुद्र र हावामा सबै प्रकारका सैन्य कारबाही रोक्न सहमत भएका थिए । –रासस/एएनआई