२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

shivam cement
२०८२ पुष १३ गते १८:११
Shares
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु गरेका छन् । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबार र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले सूची पेस गर्न सुरु गरेका हुन् । 

आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार दिउँसोसम्म तीन दलका १ सय ३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेस गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । 

उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेस गरिएको हो । यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले आइतबार दिउँसोसम्म बन्द सूची पेस गरेका प्रवक्ता भट्टराईले जानकारी दिए ।  

उनले राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताए । त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । 

पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

यसअघि १ सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिक दलले मात्र सोमबारसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउने छन् ।

साना दलले आइतबार समानुपातिकतर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन् । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेको छ । यसपटक  १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् । ती मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्न पाउँछन् । –रासस

सम्बन्धित खबर