२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपा र नागरिक उन्मुक्तिबीच एकीकरण गर्ने सहमति

shivam cement
२०८२ पुष १४ गते २०:०७
Shares
नेकपा र नागरिक उन्मुक्तिबीच एकीकरण गर्ने सहमति

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । दुवै पार्टीबीच समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै अग्रगामी परिवर्तनको दिशामा अघि बढ्ने उद्देश्यसहित सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । 

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिन्ह तारा हुनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने व्यवस्था गरिएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समितिलगायत सम्पूर्ण संगठनात्मक संरचना र जनवर्गीय संगठनहरू आपसी सहमतिमा नेकपामा समायोजन गरिने उल्लेख छ ।

सहमति–पत्रमा मुलुकको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै संघीय समाजवादी गणतन्त्रको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक विभेदको अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने कार्यलाई पार्टी कार्यक्रमका रूपमा अंगिकार गरिने जनाइएको छ ।

पार्टी सञ्चालनमा सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको संगठनात्मक पद्धति अपनाइने सहमतिमा उल्लेख छ । वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनाको सवलिकरणका विषयमा संविधान संशोधन र अग्रगामी परिमार्जनका लागि पहल गर्ने जनाइएको छ ।

सहमतिपत्रमा महिला, थारू, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक तथा पिछडिएका वर्ग र क्षेत्रका समुदायहरूलाई राज्यका सबै तह र निकायमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि समेटिएको छ । साथै टिकापुर घटनासँग सम्बन्धित प्रतिशोधपूर्ण मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिमा उल्लिखित नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन आह्वान गरिएको छ ।

सम्बन्धित खबर