
गोरखा : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् ।
स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सोमबार सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सहभागी हुने सबै दलले निर्वाचन आयोगमा बन्दसूची दर्ता गरेसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताए ।
मन्त्री खरेलले आगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए । उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि अब अन्त्य भएको छ । आगामी निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नेगरी सबैले भाग लिने वातावरण बनाउनुपर्छ ।’
मन्त्री खरेलले विगतमा विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएको उल्लेख गर्दै यसपटक पनि सरकार र राजनीतिक दल शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सफल हुने विश्वास व्यक्त गरे । ‘निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको हो । सरकारले ढुक्क भएर मतदान गर्ने वातावरण निर्माण गरिरहेको छ । सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेकाले शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या हुँदैन । विगतमा जस्तै हामी निर्वाचन गरेर सफल उदाहरण पेस गर्नेछौं,’ मन्त्री खरेलले भने ।
देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउनसमेत आग्रह गरे । हरेक निर्वाचनमा इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा रहेको उल्लेख गर्दै उनले त्यसमा सरकारले अझैं प्रयास जारी राखेको बताए । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे गम्भीर रूपमा छलफल भइरहेको पनि मन्त्री खरेलले जानकारी दिए ।
उनले सबै सरोकार भएकाहरूलाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवा घरघरमा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।
कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले स्मार्ट गुलाकको सुरुवात गरेर गोरखा जिल्ला उदाहरणीय बनेको बताइन् । उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि रूपान्तरण गर्दै लाभ लिनुपर्ने र त्यसमा सरकारले काम गरिरहेको बताइन् ।
‘देशमा ‘स्मार्ट हुलाक’ सेवाको शुभारम्भ हुनु गौरवपूर्ण क्षण हो । जनताको घरदैलोसम्म पुग्ने सेवा हुलाक भएकाले सबै सरकारी कार्यालयलाई हुलाकसँग आबद्ध गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन्, ‘उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पनि टेलिफोन तथा सञ्चार सेवा विस्तारका लागि पहल गर्नेछौं ।’